काठमाडौं । ट्राफिक सप्ताहको आज दोस्रो दिन ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।
जस अन्तर्गत ५ हजार ३ सय १ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङ, आकाशेपुल र सव – वे बाट बाटो काट्न लगाएको, २ सय ७०ओटा सडक फर्निचर सरसफाई, १ सय ३५ ओटा सवारी साधनलाई पिक एन्ड ड्रपको बारेमा जानकारी , ३ सय १९ जना चालकहरुको एकदिने आँखा स्वास्थ्य चेकजाँच, २ सय ११ जना चालक र परिचालकसँग चियापान कार्यक्रम, स्कुल कलेजका १८ जना विद्यार्थीहरुलाई सचेतना, ४२ जना ट्रिपर चालकलाई दुर्घटनाका बारेमा प्रशिक्षण , ८३ जना ट्राफिक स्वयंसेवक परिचालन, २ हजार ८ सय ८ जनालाई रात्रीकालिन विशेष सचेतना , ४ हजार ८ सय ३५ जना चालक र परिचालकसँग २ मिनेट कार्यक्रम, २ हजार २ सय ३४ जना दुई पाङ्ग्रे सवारी साधनका चालक र २ हजार ९ सय ३७ जना चार पाङ्ग्रे सवारी साधनका चालक गरी १९ हजार ९ सय २३ जना सडक प्रयोग कर्ताहरू आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् ।
साथै १० हजार ६ सय १० जनालाई पर्चा पम्प्लेट वितरण, No Horn, No Drink and Drive, Drug use is harmful, Lane, Over Speed, Red Light सँग सम्बन्धित ४ हजार ५ सय १४ ओटा स्टिकर टाँस गरिएको छ ।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ “दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा हिजोबाट सुरुवात भएको थियो । ट्राफिक सप्ताह भर ट्राफिक सम्बन्धी जनचेतना फैलाउने काम गरिने छ ।
सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक नरेश राज सुवेदीले बताए ।



