Khabar Out
जेनजी आन्दाेलनले चाैधरी परिवारकाे घरको खम्बा ढल्याे

काठमाडौँ । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । गत भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गरे । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गरे । सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गरेकी थिइन् । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गरेकी थिइन् ।

तर दिदीभाइबिच कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी(विजयकी श्रीमती) को आत्तिएको स्वरमा फोन आयो, “दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?” विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो ।

हेटौँडामा बस्दै आएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उनी भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि पुगिन् । सबै वार्ड हेर्दा पनि विजय भेटिएनन् । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देखिन्।

सुशीलाले भावुक हुँदै भनिन्, “घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।”

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुन् । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सामान्य किसान परिवारमा जन्मिएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उनले इञ्जिनियरिङ पढाउन सहयोग गरेका थिए ।  

विजय बितेपछि चौधरी परिवार शोकमा डुबेकाे छ । परिवारले अब के गर्ने भनेर सोच्न सकेकाे छैन । इञ्जिनियिरिङको पढाइ सकेर बसेका विजयका दाइ अजय कामको खोजीमा छन् । 

गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे– अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।

हुन पनि वियज परिवारप्रति व्यावहारिक र जिम्मेवार थिए। त्यसैले उनी सबैको प्यारो थिए। आमाबुवाको आँखामा उनी हिरा थिए । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजयले भावविह्ल हुँदै भने, “उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।”

अजय मानिसलाई पुर्नजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिन्छन् । “मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरु कसले गुमायो होला र ?” उनी भन्छिन् ।

विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिन्छन् । अमितले भने,“देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।”

विजयका बुवा दमको रोगी छन् । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहेका विजय नभएपछि उनको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीलाले सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्नुपर्नेमा जाेड दिइन् । 

जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका विजय अब सम्झनामा मात्र छन् । “सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्”, दिदी सुशीलाले भनिन् । रासस

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update