पाेखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ ।
सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे ।
उनले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रियस्तरमा चिनारी दिन प्रदर्शनीले सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “प्रदर्शनी आफैँमा सिकाइ हो, नेपाली र अन्तरराष्ट्रिय जगतका कलाकारहरुबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुनेछ”, उनले भने, “पोखरालाई कलाका माध्यमबाट विश्वमाझ जोड्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।”
आयरल्याण्डका कलाकार लोरा मर्फीले नेपाली कलाकारहरुसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरु उत्साहित भएको बताउए । उनले पोखरा र यस आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रियस्तरका कलाकारहरुसँग जोड्न आफूले पहल गर्दै आएको बताए । प्रदर्शनीमा सहभागी हुने विदेशी कलाकारको संयोजन मर्फीले गरे ।
पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष डीबी गुरूङले बताए ।
प्रदर्शनीमा नेपाली ३३ जना र अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्याण्डका गरी १५ जना विदेशी कलाकारले सहभागिता जनाएको उनको भनाइ छ ।
सात देशका कलाकारका ७० वटा कलाकृतिलाई प्रदर्शनीमा राखिएको हो । “यो प्रर्दशनी नेपाली कलाकार र उनीहरूका कलाकृतिलाई विश्वस्तरका कलाकारमाझ पुर्याउने माध्यम बन्नेछ”, अध्यक्ष गुरुङले भने, “कलाकृतिलाई बिक्रीमा राखिने भएकाले नेपाली कलाकारलाई आर्थिक रूपमा लाभ पुग्नेछ ।”
प्रदर्शनी तीन दिनसम्म चल्ने छ । बिहान १० देखि ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने जनाइएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले नेपाली कला र कलाकारलाई अन्तरराष्ट्रिय रुपमा चिनाउने र कलामार्फत संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलले प्रदर्शनीको आयोजना गरिएको बताइन्।
प्रदर्शनीसँगै कलाकृतिलाई बिक्रीमासमेत राखिएको उनको भनाइ छ । गतवर्ष भएको प्रदर्शनीमा विदेशी कलाकारले महँगो मूल्यमा नेपाली कलाकृति खरिद गरेको उनले सुनाइन् । प्रतिष्ठानले कला प्रवर्द्धनका कार्यक्रममा जोड दिँदै आएको प्राज्ञ सदस्य कँडेलले बताइन् । राजधानी र ठूला सहरमा मात्र हुँदै आएका ललितकला सम्बन्धी कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको उनको भनाइ छ ।
व्यावसायिक रुपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने उनले बताइन् । दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने आयोजक सिर्जनशील कलाकार समूह, पोखराले जनाएको छ ।
उक्त प्रदर्शनीमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउने भएका छन् । रासस



