Khabar Out
क्षमता र सीपका आधारमा युवालाई उद्यमशील बनाइँदै

धनुषा । स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीबाट फर्केका युवालाई सीप र क्षमता विकासका लागि विभिन्न किसिमका तालिम आयोजना गरी उद्यमशील बनाउने पहल थालिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण (रेमी) परियोजनाले स्थानीय तहसँगको समन्वयमा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिलाई तालिम दिई क्षमता र सीपका आधारमा उद्यमशील बनाउने पहल थालेको हो ।

सङ्घीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई समाजमा पुनः एकीकरणको जिम्मेवारी स्थानीय तहलाई दिएसँगै लक्ष्मीनियाँ गाउँपालिकासहित मधेस र कोशी प्रदेशका २० स्थानीय तहका रोजगार सेवा केन्द्रलाई रेमी परियोजनाले सहयोग गर्दै आएको छ ।

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा रेमी परियोजना सञ्चालन भइरहेको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाको रोजगार सेवा केन्द्रले चार वर्ष अघि रेमी परियोजनामार्फत विदेशबाट फर्केका युवाका लागि सीपमूलक तालिम सञ्चालन गरेको थियो । सोही तालिम लिएपछि व्यावसायिक कृषि पेसामा यहाँका युवा सक्रियताका साथ लागेका छन् ।

लक्ष्मीनियाँ–५ का जयकुमार यादव चार वर्षदेखि व्यावसायिक खेतीमा आबद्ध छन् । उनी १४ वर्ष वैदेशिक रोजगारीका विभिन्न मुलुक बसी स्वदेश फर्केपछि व्यावसायिक खेतीमा आबद्ध भएका हुन् । उनले धान, गहुँ, दाल, मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वार्षिक रु तीन लाख बचत गर्दै आएका छन् ।

यादवले स्वदेशमा मेहनत गर्न सके मनग्य आम्दानी गर्न सकिने बताउँदै विदेशमा भन्दा स्वदेशमा पनि आम्दानीका स्रोत प्रशस्त बनाउन सकिने धारणा राखे ।

गाउँपालिकाको रोजगार सेवा केन्द्रले आफूलाई सीप र क्षमता विकासका लागि तालिम दिएपछि व्यावसायिक कृषि पेसामा आबद्ध भएको उनको भनाइ छ । सात दिने र पाँच दिने गरी दुई पटक कृषिसम्बन्धी तालिम लिएर आफू व्यावसायिक तरकारीखेती गर्न लागेको उनले बताए ।

लक्ष्मीनियाँ–५ का रामललित यादव पनि रोजगारीका लागि १३ वर्ष मुलुकबाहिर बसे । सन् २००३ देखि सन् २०१६ सम्म साउदीअरब बसेर फर्केपछि रामललितले स्वदेशमै केही गर्ने योजना बनाए ।

“सुरुमा परम्परागत खेतीमा लागेको थिएँ । पछि रेमी परियोजनामार्फत पालिकाको रोजगार सेवा केन्द्रले सात दिने र पाँच दिने गरी दुई पटक कृषिसम्बन्धी तालिम दिएपछि व्यावसायिक रूपमा बेमौसमी तरकारीखेतीमा लागेको हुँ”, रामललितले भने ।

लक्ष्मीनियाँ–६ का श्रीदेव यादव पनि विदेशबाट फर्केर रेमी परियोजनामार्फत तालिम लिएपछि व्यावसायिक कृषि पेसामा लाग्नेमध्ये एक हुन् । विदेशको पिडाभन्दा स्वदेशमा थोरै आम्दानी नै सन्तोषपूर्ण रहेको उनको बुझाइ छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने मनग्य आम्दानी गर्न सकिने उनले बताए।

गाउँपालिकाकी रोजगार परामर्शकर्ता शारदाकुमारी चौधरीका अनुसार वैदेशिक रोजगारीबाट फर्कने हरेक व्यक्तिले आफूले काम गरेको मुलुकबाट अनुभव, अनुशासन र सम्भावित लगानीका लागि पुँजी लिएर आउने भएकाले तालिममार्फत व्यावसायिक बनाउने पहल थालिएको हो ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरण गर्ने रोजगार सेवा केन्द्रलाई सशक्त बनाउँदा युवा पुनः विदेशिने क्रम रोकिनुका साथै परनिर्भरताको चक्रबाट बाहिर निस्कन सक्ने उनले बताइन् ।

विदेशमा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमा उद्यमशीलताको विकास तथा सीप प्रवर्द्धनमा उपयोगी हुने भएकाले रेमीमार्फत त्यस्तो वातावरण निर्माणको पहल थालिएको परामर्शकर्ता चौधरीले बताइन् ।

“परियोजनाअन्तर्गत गाउँपालिकामा विदेशबाट फर्केका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेर सञ्जाल निर्माण गरिएको छ”, गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले भने, “सञ्जाल र समितिमा आवद्ध व्यक्तिले सिकेको सीपका आधारमा उद्यमका लागि सहयोग गरिरहेका छौँ ।”

विदेशमा काम गरेर फर्किएका युवालाई समाजमा आर्थिक र सामाजिक रूपमा पुनः एकीकरण गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

अध्यक्ष मिश्रका अनुसार परियोजना सञ्चालनका लागि गाउँपालिकाले कार्यालय स्थापना गरी आन्तरिक स्रोतबाट सञ्चालन गरिरहेको छ । विदेशबाट फर्केका व्यक्तिको पुनस्र्थापनाका लागि सञ्चालित यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष मिश्रले प्रतिबद्धता जनाए ।

प्रदेशको श्रम तथा यातायात मन्त्रालयका उपसचिव जयकुमार राउतका अनुसार मधेस प्रदेशका १० वटा स्थानीय तहमा सञ्चालित रेमी परियोजनाले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिलाई पुनःएकीकरण गरेर उनीहरूलाई क्षमता र सीपको आधारमा उद्यमशील बनाउने पहल थालेको छ ।

लक्ष्मीनियाँ, मुखियपट्टी, मुसहरनिया र जनकनन्दनी गाउँपालिका, क्षीरेश्वरनाथ, सिराहा, मिर्चैया, राजविराज, जलेश्वर र पिपरा नगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिकामा परियोजनामार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई सामाजिक र आर्थिक रूपमा समाजमा पुनः एकीकरण गराउने काम भइरहेको उपसचिव राउतले जानकारी दिए। उनका अनुसार परियोजनाले रोजगारी सिर्जनासँगै हिंसामा परेकालाई पुनस्र्थापना लागि आवश्यक सहयोग गर्दै आएको छ । रासस

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update