कञ्चनपुर । कञ्चनपुरका पाँचवटा स्थानीय तहमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ ।
कार्यक्रम जिल्लाका लालझाडी, बेलौरी, शुक्लाफाँटा, पुनर्वास र भीमदत्तलगायतका पाँच पालिकामा जोखिमयुक्त समुदायमा सञ्चालित छन् ।
बाढी तथा गर्मी (तातो हावा) को प्रभावबाट जोखिममा रहेका समुदायको उत्थानशीलता निर्माण गर्ने, पूर्व चेतावनी प्रणालीमा सुधार गर्ने र विपद्पश्चात् जीवनशैली पुनःस्थापना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अधिकृत दिलबहादुर ढाँटले बताए ।
कार्यक्रमले जीविकोपार्जनका पाँच पुँजीहरू (आर्थिक, प्राकृतिक, भौतिक, सामाजिक र मानवीय) लाई आधारमानी समुदायलाई सक्षम बनाउने रणनीति लिएर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ रहेको छ ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगरपालिकामा कार्यक्रमको केही प्रभावकारिता रहेको बताए । उनले भने, “विपद् व्यवस्थापन, जैविक तटबन्ध निर्माण र लक्षित समुदायको आयआर्जनमा यस कार्यक्रमले टेवा पु¥याएको छ, विशेष गरी जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूका लागि यो कार्यक्रम सहयोगीसिद्ध भएको छ ।” यस कार्यक्रमलाई अझै नगरपालिकाका सबै वडामा प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमले उत्थानशील प्रणालीका चार विशेषताहरू-शीघ्रता, स्रोत–साधन सम्पन्नता, दरिलोपना र अतिरिक्ततामा आधारित भई कार्य गरिरहेको कार्यक्रमका प्राविधिक जनक लेखकले बताए । उनका अनुसार जसअन्तर्गत बाढीका ५२ वटा र तातो हावाका ५० सूचकहरूका आधारमा जोखिम मापन र प्रतिकार्यका योजनाहरू बनाई कार्य गरिएको थियो ।
सन् २०२५ मा रु २८ लाख ९५ हजार ४९ लागतमा विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । कार्यक्रमअन्तर्गत यसमा ४६५ मिटर जैविक तटबन्ध निर्माणमा रु १६ लाख ५३ हजार र सुरक्षित आवासस्थल मर्मतमा रु तीन लाख ९७ हजार खर्च गरिएको छ ।
यसैगरी, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता विकास, प्राथमिक उपचार तालिम, खोज तथा उद्धार तालिम, र बगरखेतीमार्फत आयआर्जनमा सहयोग पुर्याइएको छ । कार्यक्रममार्फत ३०० बढी बासिन्दा लाभान्वित भएको बताइएको छ ।
कार्यक्रमले वडास्तरमा आपत्कालीन सामग्री सहयोग गर्नुका साथै विद्यालयहरूमा जलवायु सचेतना कार्यक्रम र पूर्वसूचनाका लागि जल तथा मौसम विज्ञान स्टेशनहरूसँगको समन्वयलाई समेत प्राथमिकता दिएको छ । आगामी वर्षका लागि परियोजनाले विपद् बिमा, जोखिम स्थानान्तरण र प्रकृतिमा आधारित समाधानका कार्यहरूलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ । रासस



