काठमाडाैँ । युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि कम्पनीहरूलाई नियमन गर्ने पाँच युरोपेली व्यक्तित्वमाथि लगाइएको अमेरिकी प्रतिबन्धको ‘कडा निन्दा’ गरेको युरोपेली आयोगले बुधबार जानकारी गराएको छ।
अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार प्रविधि क्षेत्रमा काम गर्ने ब्रेटन र अन्य चार व्यक्तिलाई भिसा अस्वीकार गर्ने घोषणा गरेको छ । उनीहरूले अमेरिकी सामाजिक मिडिया प्लेटफर्महरूको विरोध गर्ने दृष्टिकोणलाई नियन्त्रण गर्न ‘जबरजस्ती’ गर्न खोजेको आरोप लगाए ।
“हामीले अमेरिकी अधिकारीहरूसँग स्पष्टीकरण मागेका छौँ र यस मुद्दामा नियमित लागिपरेका छौँ । आवश्यक भएमा हामी अनुचित उपायबिरूद्ध हाम्रो नियामक स्वायत्तताको रक्षा गर्न द्रूत र निर्णायक रूपमा प्रतिक्रिया दिनेछौँ,” आयोगको एक विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो डिजिटल नियमहरूले सबै कम्पनीहरूको लागि सुरक्षित, निष्पक्ष र समान स्थान सुनिश्चित गर्छ, साथै, यो निष्पक्ष र भेदभावबिना लागू हुन्छ।”
“अभिव्यक्ति स्वतन्त्रता युरोपको मौलिक अधिकार हो र लोकतान्त्रिक संसारमा संयुक्त राज्य अमेरिकासँग साझा र प्रमुख मूल्य हो,” आयोगले भनेको छ ।
“इयू एक खुला, नियममा आधारित एकल बजार हो, जसमा हाम्रो लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू अनुरूप आर्थिक गतिविधिलाई नियमन गर्ने सार्वभौम अधिकार छ,” आयोगले भनेको छ। रासस



