Khabar Out
म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो

म्याग्दी । बेनी नगरपालिका-३ भकिम्लीको डाँडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामा नयाँ जातको बाख्रा भित्र्याए छन् । उनले डाँडाखानीस्थित ‘श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म’मा अफ्रिकाबाट आएको ‘कालारी बोयर’ जातको बाख्रा भित्र्याएका हुन् ।

पाल्पाको रामपुरमा रहेको निजी फार्मबाट प्रजननका लागि कालारी बोयर जातका दुई बोका र दुईवटा माउ बाख्रा ल्याएर पालन गर्न थालेको श्रीसले बताए ।

उनले भने, “१४ वर्षदेखि विभिन्न उन्नत जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने क्रममा पछिल्लोपटक नयाँ कालारी बोयर जातको ल्याएको हुँ । यहाँको भूगोल र हावापानीमा पालेको कालारी बोयरबाट पाठापाठी उत्पादन सफल भएको छ ।”

श्रीसका अनुसार दुईवटा बाख्राले शतप्रतिशत कालारी बोयर जातका दुई–दुईवटा पाठापाठी जन्माएका छन् । “कालारी बोयर बाख्राकै एक प्रजाति हो । शरीरको रङ खैरो हुने भएकाले यसलाई कालारी नामकरण गरिएको हो”, उनले भने।

सबै शरीर कालो हुनेलाई ‘ब्याकबेरी’ र टाउको रातो, शरीर सेतो रङको हुने बाख्रालाई ‘स्टायडर्ड’ बोयर भनिने श्रीसले जानकारी दिए । उनले भने, “सबै विशेषता र गुण स्टाण्डर्ड बोयरसँग मिल्ने खैरो रङको कालारी बोयरको पाठापाठी नश्ल सुधारका साथै मासु र पूजाआजाका लागि बिक्री हुने गरेको छ ।”

प्रजनन (ब्याड)का लागि कालारी बोयर बाख्राको बोका प्रतिकिलो रु चार हजारमा बिक्री हुन्छ भने मासुका लागि अन्य जातका खसीबोकासरह नै हुने गरेको उनले बताए । उनका अनुसार छिटो हुर्कने, तौल बढी हुने र हेर्दा आकर्षक देखिने बोयर बाख्राको विशेषता हो ।

बोयर बोकाबाट स्थानीय जातका बाख्राको नश्ल सुधार गरेर जन्मिएका पाठापाठी पछि छिटो बढ्ने र तौल बढी हुने श्रीसले जानकारी दिए । उहाँको फार्मलाई सरकारले उन्नत जातको बाख्राका पाठापाठीका लागि स्रोत केन्द्रको मान्यता दिएको छ ।

श्रीसका अनुसार उक्त फार्ममा उत्पादन भएका बोयर, सिनाल, खरि, जमुनापारीलगायत जातका बोका तथा पठापाठी नश्ल सुधारका लागि देशभरका किसानले खरिद गरेर लैजाने गरेका छन् ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले डाँडाखानीको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा भित्रिएको कालारी बोयर म्याग्दीका लागि नयाँ र पहिलो भएको पुष्टि गरे ।

१५ वर्ष विदेशमा बिताएका श्रीसले १४ वर्षअघि फार्म स्थापना गरेका थिउ । बाख्रापालनका लागि आवश्यक पर्ने पूर्वाधार, घाँसखेती र पाठापाठीका लागि हालसम्म रु दुई करोड लगानी भएको उनले जानकारी दिए। उनले बाख्रापालनका लागि ६० रोपनीमा डालेघाँस र करिब ३० रोपनीमा जैघाँसखेती गरेका छन् ।

बर्खामा प्रशस्त पाइने हरियो मकैको घोगासहितको ठाँडलाई हिउँदमा खुवाउनका लागि साइलेज बनाएका छन् । श्रीसको फार्ममा हाल माउ र पाठापाठी गरेर ४० वटा बाख्रा छन् । वार्षिक रूपमा ३० देखि ४० वटा पाठापाठी बिक्री हुने गरेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update