Khabar Out
पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ । फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरेको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चार वटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए ।

 

 

अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

भालुले अलैँचीको टुसासमेत खाएर बगानमा पनि क्षति पुर्‍याएको स्थानीय ताइवान मादेनले बताउनुभयो । अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत त्रास सृजना हुन थालेको उनकाे भनाइ छ ।

भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले बताए । 

रासस

 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update