नेपालगञ्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालेको छ । चिसो बढेर शीतलहर सुरु भएपछि दुई दिनभित्रै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
डिभिजन वन कार्यालय, बाँकेमार्फत विभिन्न सामुदायिक वनमा रहेका सुकेका दाउरा खरिद गरेर ल्याएर आगो ताप्नका लागि वितरण हुने जानकारी दिँदै उनले वडाको माग अनुसार दाउरा वितरण हुने बताए ।
“हामी अहिले पनि छलफलमै छाैँ, वडाको मागअनुसार कहाँ आवश्यकता पर्छ त्यहाँ वितरण हुन्छ”, उनले भने । यसबाहेक चिसोबाट बच्नका लागि सचेतनामूलक प्रचार सामग्री निर्माण गरी स्थानीयलाई जानकारी दिइने सम्पर्क व्यक्ति श्रेष्ठले बताए । रासस



