Khabar Out
कांग्रेस नेता तथा पूर्वमन्त्री उपाध्यायको निधन 

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय सक्रिय रहनुभएका उपाध्यायको राजनीतिक यात्रा निकै संघर्षपूर्ण रहेको थियो । उनले राजनीतिक संघर्षको क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका थिए भने निर्वासित जीवनसमेत व्यतीत गरेका थिए ।

उपाध्यायले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी वि.सं. २०५१ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए भने २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उपाध्यायले वि.सं.०५६ देखि ०५८ सम्म शिक्षा तथा खेलकूद मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए ।

मोरङको विराटनगर निवासी ९२ वर्षीय उपाध्याय गिरीजाप्रसाद कोइरालाका विश्वासपात्र पनि थिए। भारतबाट राजनीतिशास्त्रका स्नातक गरेका उपाध्यायका दुई छोरा र एक छोरी छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update