Khabar Out
महावाणिज्य दूतावास कोलकताको क्षेत्राधिकार सीमित हुँदा समन्वयमा समस्या

भारत । नेपालका आयातकर्ताले भारतको कोलकता र हल्दिया पोर्टबाट स्थलमार्ग हुँदै कन्टेनरमा समान ओसार्दा भारतको झारखण्ड र विहार राज्यमा विभिन्न समस्या झेल्दै आइरहेका छन् ।

तेस्रो मुलुकबाट समुन्द्रीमार्ग हुँदै आयात भएका सामान वीरगञ्जमा रेल्वे-याक वा ट्रक/कन्टेनरमा ढुवानी गरेर ल्याउने गरिन्छ । नेपालका आयातकर्ताले स्थलमार्ग हुँदै ल्याउने सामानमा विशेष गरी झारखण्ड र विहार राज्यका प्रहरीलाई अत्यधिक भारवाहन र कन्टेनरको उचाइ बढी भएपछि जरिवाना तिर्नुपर्नेलगायत समस्या रहेका छन् । वीरगञ्जका उद्योगी/व्यवसायीले पनि स्थलमार्ग हुँदै मालवाहक सवारीसाधन ल्याउँदा विभिन्न ठाउँमा उल्झान बेहोर्नुपरेको गुनासो गर्दै आइरहेका छन् ।

नेपाल कार्र्गाे ह्यान्डिलिङ एजेन्ट एसोसिएसन कोेलकाताका सचिव महेन्द्रकुमार दुगडले कोलकता हुँदै वीरगञ्ज भन्सार कार्यालयसँग मालवाहक ट्रक ढुवानी गर्दा विहार र झारखण्ड राज्यमा भारतीय प्रहरीबाट झन्झट बेहोर्नुपरेको गुनासो गरे ।

“स्थलमार्गबाट मालवाहक सामान लैजाँदा भारतको झारखण्ड र विहारमा प्रहरीबाट विभिन्न किसिमका दण्ड जरिवाना लगाउने प्रवृत्तिको अन्त्य हुन जरुरी देखिएको छ”, उनले भने, “कहिले मालवाहक ट्रकको तौल बढी भयो, कहिले कन्टेनरको उचाइ बढी भयो भन्दै विभिन्न बाहाना बनाएर कारबाहीमा पर्ने गरेका छन् । त्यस्ता खालका समस्या समाधान हुन जरुरी छ ।”

नेपाली महावाणिज्य दूतावास कोलकताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपालका व्यापारी तथा व्यवसायीको ट्रक र कन्टेनरमार्फत मालसमान ढुवानी गर्दा भारतको झारखण्ड र विहार राज्यमा बेलाबखत समस्या भोग्नुपरेको गुनासो आइरहेको बताए । 

नेपालले तेस्रो मुलुकबाट आयात गर्ने सामान समुद्रीमार्ग हुँदै कोलकता र हल्दिया पोर्ट हुँदै स्थलमार्गबाट करिब ८०० किलोमिटरको दूरीमा रहेको छ । त्यस्तै ती दुवै पोर्टबाट रेल्वे¥याकबाट पनि मालसामान ढुवानी गर्न सकिन्छ ।

महावाणिज्यदूत आचार्यले नेपालका लागि विश्वभरबाट समुद्रीमार्ग हुँदै आउने आयातित वस्तुहरू सहज रूपमा ढुवानी गर्न महावाणिज्य दूतावासले व्यापारमा सहजीकरण गर्दै आइरहेको बताए । 

कोलकता पोर्ट हुँदै ६० प्रतिशत मालवाहक सामान रेल्वे-याकमार्फत कन्टेनर ल्याइन्छ भने ४० प्रतिशत मालवाहक सामान ट्रकमा ओसार्ने गरिन्छ । महावाणिज्यदूत आचार्यले कोलकता महावाणिज्य दूतावासको क्षेत्राधिकार झारखण्ड, विहार र आन्द्रा प्रदेशमा अवस्थित विशाखापट्नमसम्म वृद्धि गर्न आवश्यक भएको बताए । 

अहिले विशाखापट्नम बन्दरगाहको व्यापार सहजीकरणको काम भने दिल्लीमा अवस्थित नेपाली राजदूतावासले हेर्दै आइरहेको छ । कोलकताबाट विशाखापट्नम बन्दरगाह एक हजार किलोमिटरको दूरीमा अवस्थित छ भने दिल्लीबाट सो बन्दगाह करिब दुई हजार किमी टाढा पर्दछ । कोलकतास्थित महावाणिज्य दूतावासको एक अध्ययनअनुसार कोलकता पोर्ट हुँदै करिब ८० प्रतिशत मालवाहक सामान वीरगञ्ज नाका भित्रिने गर्छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update