काठमाडौँ । अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) चावहिल शाखाले पशुपति क्षेत्रको चावहिलबाट गोकर्णेश्वर नगरपालिकाको नारायणटारसम्म जगन्नाथ रथयात्राको आयोजना गरेको छ ।
इस्कोन चावहिल शाखाले प्रत्येक वर्षको मङ्सिर महिनाको शनिबार पारेर राजधानीमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा निकाल्न सुरु गरिएको हो । इस्कोन चावहिल शाखाका सचिव जीवदया गौराङ्गदासले राससलाई जानकारी दिए । जगन्नाथ रथयात्रा चावहिलबाट चुच्चेपाटी, टुसाल, बौद्ध, पीपलबोट, जोरपाटी हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको थियो ।
समापनपछि नारायणटारमा प्रसाद पनि वितरण गरियो । यात्राका क्रममा विभिन्न स्थानमा भगवान् श्रीकृष्ण, बलराम र बहिनी सुभद्रालाई ५६ भोग पनि लगाइयो ।
आषाढ शुक्ल द्वितीयाका दिन भारतको जगन्नाथपुरीमा रथयात्रा गरिने दिन इस्कोन केन्द्रीय कार्यालयको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सहरका विभिन्न भाग परिक्रमा गराउँदै टुँडिखेलसम्म रथयात्रा गरिन्छ । यो दिन नेपालसहित १६५ देशमा पनि यो यात्रा गर्ने परम्परा रहिआएको सचिव गौराङ्गदासले बताए ।
आषाढ शुक्ल द्वितीयाको दुई हप्तापछि भक्तपुरमा पनि जगन्नाथ रथयात्रा गर्ने गरिन्छ । जगन्नाथ रथयात्राका बारेमा महाभारतलगायत विभिन्न पुराण र धर्मशास्त्रका ग्रन्थमा पनि उल्लेख गरिएको छ । यो रथयात्रामा कृष्ण, बलराम र सुभद्रालाई राखेर घुमाउने गरिन्छ । यस रथयात्रामा हजारौँ भक्तजन सहभागी हुने गर्दछन् ।



