त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्था गरिएको छ । कावासोती नगरपालिका–१३ मा रहेको उक्त वनले वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरेको हो ।
जङ्गली जनावरका लागि पानीको अभाव हुँदै गएपछि सामुदायिक वनभित्र सौर्य ऊर्जाबाट स्वचालित रुपमा पानी तान्ने व्यवस्था गरिएको नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बताए । गर्मी याममा सिमसार सुक्ने र वन्यजन्तुका लागि पानीको अभाव हुने तथा कहिलेकाहीँ वन्यजन्तु बस्तीतर्फ प्रवेश गर्ने जोखिम रहेकाले वनभित्र नै सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए ।
‘गर्मीमा पानीको अभाव हुननदिन वन क्षेत्रमा स्वचालित बोरिङ गाडिएको छ । यसबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने छ । घामलागुञ्जेल१४२ फिट गहिरो बोरिङले पानी फालिरहन्छ’, उनले भने ।
गत वर्ष बुद्धढाप घोलमा पानी सुकेपछि भाडामा जेनरेटर ल्याएर करिब रु ८० हजार खर्च गरेर पानीको व्यवस्था गरे पनि त्यसरी खर्चिलो र पानीको मात्रा नपुगेपछि यो वर्ष हिमालय नेचर संस्थाको सहयोगमा सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । आठ लाखको लागतमा बोरिङको व्यवस्था गरिएको उनले बताए ।
नमुना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको बासस्थान भएको वनका रुपमा समेत रहेको छ । वन क्षेत्र भित्र एक सय ७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ । वनमा गैंडा, मृग,हरिण , बँदेल ,बाघ, भालु पाइन्छन् ।
नमूनासँगै जोडिएका गुन्द्रही ढकाहा, कृष्णसार र शान्तिकुञ्ज सामुदायिक वनलाई एकीकृत रुपमा वन्यजन्तु अवलोकन क्षेत्रका रुपमा विकास गरिएको छ । अमलटारी क्षेत्रमा पर्ने यी वनमा दैनिक रूपमा वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
अमलटारी घरबास सँगै यो वन क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई यसै वन क्षेत्रमा वन्यजन्तु अवलोकनका लागि लैजाने गरिन्छ । पानीको श्रोत नभए वन्यजन्तु अन्यत्र जाने र पर्यटन उद्योगमा प्रभाव पार्ने भएकाले आफूहरूले वन्यजन्तुको स्थायी बासस्थान निर्माण गर्न लागिपरेको अध्यक्ष गुरुङको कथन छ । रासस




