नुवाकोट । सडक मर्मत सुधारको माग गर्दै मध्यपहाडी राजमार्गस्थित लिखु गाउँपालिका–६ छहरेमा आज स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसगैँ टोखा–छहरे सडक हुँदै नुवाकोट र रसुवा आवत जावत गर्ने सवारी साधन रोकिएका छन् ।
सडक अवरोधका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ आवतजावत गर्ने गाडीबीच बाटोमा रोकिएका छन् । सडक खुलाउन आयोजनाका प्रतिनिधि र स्थानीयवासीबिच छलफल गराउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
बिग्रिएको सडक मर्मतका लागि सम्बन्धित पक्षलाई गराएको ध्यानाकर्षणको बेवास्ता गरिएको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन सडक अवरोध सुरु गरेका हुन् । मागको सुनुवाइ नभएकाले अनिश्चितकालीन विरोधको कार्यक्रम सुरु गरिएको स्थानीय नवराज थापाले जानकारी दिए ।
उनका अनुसार छहरेमा तीन वर्षअघि निर्माण गरिएको सडकमा खाल्डाखुल्डीका कारण दैनिकजसो दुर्घटना हुने गरेकाले तत्काल सुधारको माग गरिएको हो ।


