Khabar Out
अमेरिकामा कार्गो विमान दुर्घटना, तीनको मृत्यु, ११ घाइते

काठमाडौं । अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा एक कार्गो विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

फेडरल एवीएसन अथोरिटी (एफएए)का अनुसार, यूपीएस कम्पनीको फ्लाइट २९७६ले मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार हवाईको ड्यानियल इनोये अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको थियो ।

एफएएले स्थानीय समयअनुसार साँझ करिब ५ः१५ बजे दुर्घटना भएको जानकारी दिएको हो । त्यसपछि विमानस्थलको दक्षिणी भागमा बाक्लो धुवाँ र आगोका लप्का देखिएका थिए । 

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा तीव्र आगो र भग्नावशेष स्पष्ट रूपमा देखिन्छ । 

प्रहरीले विमानस्थलबाट आठ किलोमिटरको परिधिभित्र बस्ने मानिसहरूलाई घरभित्रै बस्न आदेश दिएको छ । साथै, विमानस्थललाई तत्कालका लागि बन्द गरिएको छ । 

लुइसभिल प्रहरीले दुर्घटनास्थलमा अझै पनि आगलागी भइरहेको र भग्नावशेष चारैतिर फैलिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार, विमानमा रहेका लिथियम ब्याट्रीहरूबाट आगो लागेको हुनसक्ने आशंका गरिएको छ । यस्तै घटना सन् २०१० मा यूपीएस फ्लाइट ६ को दुर्घटनामा पनि देखिएको थियो । यूपीएस कम्पनीले विमानमा तीनजना चालक दलका सदस्य रहेको पुष्टि गरेको छ ।

सञ्चार माध्यमका रिपोर्टहरूका अनुसार, विमानमा करिब ९५ हजार लिटर जेट इन्धन भरिएको थियो, जसका कारण आगो तीव्र गतिमा फैलिएको हो । सीएनएन

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update