काठमाडौं । इन्डोनेसियामा पुनः ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार बिहान देशको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले पुष्टि गरेको छ ।
यो भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको जानकारी दिइएको छ । भूकम्पबाट अहिलेसम्म कुनै किसिमको क्षतिको सूचना प्राप्त भएको छैन ।
इन्डोनेसिया एसिया र अस्ट्रेलिया महाद्वीपको बीचमा अवस्थित छ । यो प्रशान्त महासागरको किनारामा रहेको देश हो । यो क्षेत्र ‘रिङ अफ फायर’ अर्थात् आगोको घेरामा पर्ने क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रमा विश्वका करिब ९० प्रतिशत भूकम्पहरू र ७५ प्रतिशत ज्वालामुखी विस्फोटहरू हुन्छन् । इन्डोनेसिया यही भूभागमा पर्ने भएकाले यहाँ लगातार टेक्टोनिक प्लेटहरूमा हलचल भइरहन्छ ।
इन्डोनेसियाको जनसंख्या २७ करोडभन्दा बढी छ । मानिसहरू ठूलो मात्रामा तटीय इलाका र विभिन्न द्वीपहरूमा बसोबास गर्छन् । त्यसैले भूकम्प र सुनामीका घटनाहरूले यिनै क्षेत्रहरूमा सबैभन्दा बढी प्रभाव पार्ने गर्छन् ।
इन्डोनेसिया इन्डो–अस्ट्रेलियन प्लेट, युरेसियन प्लेट र प्यासिफिक प्लेटसहित विश्वका तीन ठूला टेक्टोनिक प्लेटहरूको संगमस्थलमा अवस्थित छ ।
जब यी प्लेटहरू आपसमा ठोक्किन्छन् वा सर्छन्, तब पृथ्वीमा कम्पन उत्पन्न भई भूकम्प आउँछ ।
इन्डोनेसियाको भूमिगत संरचना निरन्तर दबाबमा रहने भएकाले यसलाई विश्वको सबैभन्दा भूकम्प संवेदनशील क्षेत्रका रूपमा मानिन्छ । लाइभमिन्ट


