काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई सहर विकासमा उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ ।
विभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका नागरिकलाई अवकाशपछि पनि समाज र देशको विकासमा योगदान दिने अवसर दिन यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए ।
सचिवालय सदस्य बास्तोलाले भने, ‘तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।’
कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने जनाइएको छ । महानगरले 'कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि' बमोजिम आवेदन आह्वान गरेको हो ।
कार्यविधिमा उल्लेख भएअनुसार, यो कार्यक्रममा सहभागी हुनका लागि निम्न योग्यताहरू तोकिएका छन्:
- नेपाली नागरिक, गैर आवासीय नेपाली वा प्रचलित कानुनअनुसार स्वीकृति लिएका विदेशी नागरिक हुनुपर्ने ।
- उमेर ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको हुनुपर्ने ।
- कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्ने ।
- एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने ।
- शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको तथा पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक हुनुपर्ने ।
- समितिले तोकेको महानगरभित्रका क्षेत्रमा गई काम गर्न तयार रहने र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक गर्ने क्षमता हुनुपर्ने ।
- कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको हुनुपर्ने ।
महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ ।
इच्छुक व्यक्तिहरूलाई कार्यक्रमका बारेमा थप जानकारी आवश्यक परे ९८४८०१८२१५ मा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । रासस


