
विराटनगर । कोसी प्रदेशसभा बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रदेशसभा सचिवालयले यसबारे प्रदेश सरकारलाई पत्राचार गरिसकेको छ ।
सभागृह पुनर्निर्माणपछि विराटनगर महानगरपालिकाले यसको सञ्चालन गरिरहेको छ । वार्षिक एक करोड रुपैयाँको भाडामा सभाको बैठक त्यहाँ गर्ने प्रस्ताव गरिएको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरज ढकालका अनुसार, सभा सञ्चालनका लागि आवश्यक भाडा खर्च प्रदेश सरकारले उपलब्ध गराउने विषयमा पत्राचार भइसकेको छ ।
यसअघि, प्रयोग हुँदै आएको सचिवालय भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण प्रयोग अयोग्य बनेपछि वैकल्पिक स्थानको खोजी गरिएको हो ।
ढकालका अनुसार, सभाले सरकार–सरकार (जीटूजी) मोडालिटीमार्फत सम्झौता गरी वीरेन्द्र सभागृह प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ ।