
जुम्ला । साल्टट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेको जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा एक हजार ५०० क्विन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा एक हजार ३०० क्विन्टल नुनको कोटा रहेको छ ।
उनले भने, “जिल्लामा नुनको अभाव रहेको छैन । जिल्लामा पर्याप्त मात्रमा नुन रहेको छ । दसैँको अवधिमा करिब ५४६ क्विन्टल नुन बिक्री भएको छ । यहाँका आठवटै स्थानीय तहका वडाको सिफारिसको आधारमा नुन वितरण हुने गरेको छ । वडाको मागबमोजिम नुन वितरण भइराखेको छ ।”
बितेका वर्षमा जिल्लामा करिब पाँच हजार ४०० क्विन्टलको हारहारीमा कोटाहुने गरेको थियो । नुन उपभोक्तालाई पुर्याउन केही कठिन हुने गरेकोमा यस वर्षदेखि जिल्लाका लागि नुनको कोटा वृद्धि भएसँगै यहाँका उपभोक्तालाई सहज रूपमा नुन वितरण भइरहेको कार्यालय प्रमुख थापाले बताए ।
सदरमुकाम सहित तीनै डिपोका लागि बाँकी कोटा नुनको ढुवानी भइरहेको छ । सबैभन्दा बढी चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपभोक्ताले नुन लिने गरेको कार्यालयले जनाएको छ । जिल्लाका स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि यहाँका स्थानीयवासीलाई सहज भएको छ । रासस