Khabar Out
जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै

जनकपुरधाम । जेनजीको प्रदर्शन तथा आन्दोलनका कारण  तनावग्रस्त रहेको मधेस प्रदेशको राजधानी जनकपुरसहित धनुषाको  जनजीवन सामान्य बन्दै गएको छ । साथै सुरक्षा व्यवस्थामा क्रमिक सुधार हुँदै गएको छ ।

आजदेखि जनकपुरधामको बजारका पसल खुल्न थालेका छन् । साथै बजारमा किनमेलका लागि चहलपहल बढेको छ । जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको त्यहाँका पुजारीले जनाएका छन् । साथै बजारमा सरकारी गाडीबाहेक निजी तथा भाडाका ठुला र साना सवारीसाधन चल्न थालेका छन् । 

आन्दोलनकारीबाट तोडफोड तथा आगजनी भएका जिल्ला प्रशासन कार्यालय धनुषासहित सरकारी कार्यालय तथा सार्वजनिक भवन एवं मधेस प्रदेश भवनअन्तर्गत रहेका प्रदेश मन्त्रालयका भवनको सरसफाइ भइरहेको छ ।

असुरक्षाका कारण खाली भएका प्रहरी चौकीमा सुरक्षाकर्मी फर्किन थालेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षाको अवस्था सामान्य हुँदै गएकाले आइतबारबाट  सार्वजनिक सेवा अनिवार्य रूपमा सञ्चालन गर्न सूचना जारी गरेको छ । साथै आआफ्नो कार्यालयको क्षति विवरण सङ्कलन तथा प्रमाणित गरी अभिलेख कायम गर्न अनुरोध गरेको सूचनामा जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयको सबै सेवा सुरु भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हाल सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा सूचनामा उल्लेख गरिएको छ । 

सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयमा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा खटिएका छन् । 

जेनजीको आन्दोलनमा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक र राजनीतिक दलका नेता तथा पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update