Khabar Out
मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर

मन्थली । रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । यहाँ आयोजित एक समारोहकाबिच बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् ।

मुख्यमन्त्रीको कार्यालय बागमती प्रदेशले गरेको अनुगमनमा यससँग सम्बन्धित ५१ वटा सूचक पूरा भएको पाएकाले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर भएको घोषणा गरिएको प्रदेशका सामाजिक विकासमन्त्री बादेले बताए ।

नौ हजार ५९० परिवार, ५३  हजार ९९३ जनसङ्ख्या रहेको यो नगरमा १५ हजार ११७ जना १८ वर्षमुनिका बालबालिका छन् । उनीहरूको हकहितका लागि बाल बचाउका १४, बाल संरक्षणका १०, बाल विकास र बाल सहभागिताका छरछ र संस्थागत विकासका १५ वटा गरी ५१ वटा सूचक पूरा भएपछि प्रदेश सरकारले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेको उनले जानकारी दिए ।

चौध वटा वडा रहेको यस नगरमा ६६ वटा सामुदायिक विद्यालय, छ वटा संस्थागत विद्यालय छन् भने ८० वटा बाल विकास केन्द्र, नौ वटा सामुदायिक सिकाइ केन्द्र, एक एक वटा प्राविधिक शिक्षालय,  सामुदायिक क्याम्पस र विशेष शिक्षा स्रोत कक्षा सञ्चालनमा रहेका मन्त्री बादेले उल्लेख गरे ।

त्यसैगरी ३० वटा स्वास्थ्य संस्था क्रियाशील हुनुका साथै नगरभित्र दुई सय बाल समूह, चौध वडा र एउटा नगर बाल सञ्जाल, ५२ वटा किशोरी समूह, चौध वडास्तरीय किशोरी समूह र एउटा नगरस्तरीय किशोरी वृत्तमार्फत तीन हजार ९६९ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको मन्थली नगरप्रमुख लव श्रेष्ठले बताए ।

कार्यक्रममा मन्त्री बादेले सभ्य समाज निर्माणका लागि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न आवश्यक रहेको बताए । अब प्रदेशका सबै पालिकाले छिटो भन्दा छिटो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुपर्नेमा उनले जोड दिए । उनले मन्थली नगर जिल्लाको पहिलो, प्रदेशको एघारौँ र देशभर सत्ताइसौँ स्थानमा परेको जानकारी दिए ।

मन्त्री बादेले प्रदेश सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनुपर्ने नीति ल्याएकामा मन्थली नगर ११औँ बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको धारणा राखे ।

मन्थली नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समारोहअघि वडा नं १, २ र ३ को मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट, वडा नं ४, ५ र ६ को मन्थलीस्थित भैँसेश्वर चोकबाट र वडा नं ७ बाट १४ सम्म गाईखुरामा रहेको पक्की पुलबाट विभिन्न झाँकी र बाजागाजासहित र्‍याली निकालेर मन्थलीस्थित तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो । 

बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेपछि आफू जस्ता बालबालिकाको हक अधिकार सुनिश्चित हुने बाल क्लब सञ्जालकी श्रेया कार्कीले बताइन् । दुई वटा नगरपालिका रहेको यस जिल्लाको रामेछाप नगरले पनि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अन्तिम तयारी पूरा गरेको रामेछाप नगरप्रमुख लवश्री न्यौपानेले  बताए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update