Khabar Out
विश्वकल्याण महारुद्राभिषेक यज्ञको मंसिर १ गते समापन हुँदै

काठमाडौं । विश्वशान्ति, मानवकल्याण, नेपालको दिगो शान्ति तथा प्राकृतिक विपत्तिमा दिवंगत भएकाहरूको मुक्तिको कामनासहित काठमाडौंको दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा जारी तीनदिने विश्वकल्याण महारुद्राभिषेक यज्ञ भोलि मंसिर १ गते समापन हुने भएको छ।

नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा कार्तिक २९ गते भव्य रूपमा शुभारम्भ भएको यज्ञमा वैदिक शास्त्रीय विधि र परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन् ।

विश्वको नेतृत्वका लागि नेपाल (Nepal to Lead the World) भन्ने उद्घोषसहित ५२ वर्षअघि नेपाललाई विश्वस्तरमा परिचित गराउने अभियान सुरु गरेका वैज्ञानिक सन्त परमपूज्य महर्षि महेश योगीको नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा यज्ञ आयोजना गरिएको हो ।

यज्ञमा ५७ जना पण्डितले रुद्री पाठ, १३ जनाले चण्डी पाठ, १५ जनाले हवन, तीन जनाले नवग्रह पाठ तथा एक जनाले वेद पाठ गरिरहेका छन् । यसका साथै महालक्ष्मीको विशेष आराधनासमेत भइरहेको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपक प्रकाश बास्कोटाले यज्ञ प्रकृति, मानवजीवन र समग्र सृष्टिको सन्तुलनसँग जोडिएको वैदिक जीवनदर्शन भएको हुदा व्यक्तिगत सुख, शान्ति र समृद्धिमा मात्र सीमित नभई लोककल्याण तथा विश्वकल्याणका लागि आयोजना गरिएकोले सबैलाई उपस्थित रहेर यज्ञमा होम हाल्न आग्रह गरेका छन् । 

यज्ञमा श्रद्धालु तथा सर्वसाधारणलाई कर्ताका रूपमा सहभागी हुने व्यवस्था गरिएको छ। पाँच हजार एक सय रुपैयाँ सहयोगसहित नाम दर्ता गराई संकल्पसहित अनुष्ठानमा सहभागी हुन सकिने आयोजकले जनाएको छ। यज्ञस्थलसम्म उपस्थित हुन नसक्नेले आफ्नो गोत्र, नाम र ठेगाना उपलब्ध गराएर वैदिक पण्डितमार्फत आफ्नो नाममा संकल्प गराउन सक्ने व्यवस्था पनि मिलाइएको छ।

आयोजकले विश्वशान्ति, मानवकल्याण र नेपालको दिगो शान्तिको कामनासहित आयोजना गरिएको यस पवित्र अनुष्ठानको समापन कार्यक्रममा उपस्थित भई यज्ञमा होम हाल्न तथा धार्मिक अनुष्ठानमा सहभागी हुन सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा सर्वसाधारणलाई हार्दिक आह्वान गरेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update