Khabar Out
बुढानीलकण्ठमा मंसिर २ देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुदैं

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ मन्दिर परिसरमा आगामी मंसिर २ गतेदेखि ८ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । श्री १००८ स्वामी निगमानन्द गिरिजी महाराजको संकल्प एवं संरक्षणमा आयोजना हुन लागेको उक्त महायज्ञमा धार्मिक प्रवचन, संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधिनी एकादशी मेलाको पावन अवसर पारेर आयोजना हुन लागेको महायज्ञमा श्री १००८ स्वामी निगमानन्द गिरिजी महाराजको विशेष भूमिका रहनेछ । उहाँ बुढानीलकण्ठ मन्दिर दशर्नामी मठका मठाधीश्वरसमेत हुनुहुन्छ ।

महायज्ञमा प्रखर भागवत वक्ता पं. श्री विपिनकृष्ण शास्त्रीले प्रमुख वाचन गर्नुहुनेछ भने आचार्य पं. श्री ईश्वर रिजालले कथा वाचन गर्नुहुने कार्यक्रम रहेको छ। दुवै वक्ताको वाचनमा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुनेछ।

आयोजकका अनुसार महायज्ञ मंसिर २ गतेदेखि ८ गतेसम्म दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । यसैगरी महायज्ञको पहिलो दिन मंसिर २ गते बिहान ७ः४५ बजे बुढानीलकण्ठ मन्दिर परिसरबाट कलश यात्रा निकालिने कार्यक्रम रहेको छ ।

महायज्ञको मुख्य उद्देश्य धार्मिक तथा आध्यात्मिक चेतनाको अभिवृद्धि, भगवान् श्रीहरिको महिमा प्रवर्द्धन तथा भक्तजनमा धर्म र संस्कृतिप्रतिको आस्था जागृत गराउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा उपस्थित भई श्रीमद्भागवत कथा श्रवण गरेर पुण्य लाभ लिन सम्पूर्ण धर्मप्रेमी, भक्तजन तथा श्रद्धालुहरूलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update