
चितवन । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर चार सय ५० पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’को चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य तीन सय ५० मा झरेको थियो । संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) तीन हजार १४०, ठूलो अण्डा तीन हजार र मझौलाको दुई हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ सम्म पुगेको थियो ।
सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको हो। रासस