Khabar Out
दमकको भाटभटेनी सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

दमक । झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। आगलागीका कारण क्षति पुगेपछि बन्द रहेको स्टोर पुनर्निर्माण गरी ग्राहकका लागि पुनः सेवा सुरु गर्न लागिएको हो ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले मंसिर ५ गतेदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने जानकारी दिएका छन ।

कम्पनीले ठूलो क्षति बेहोर्नुपरे पनि आफ्नो व्यावसायिक गतिविधि र कर्मचारीप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको जनाएको छ। आगलागीबाट कम्पनीका स्टोरहरूमा ठूलो क्षति पुगे पनि भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा कुनै असर पर्न नदिएको कम्पनीले स्पष्ट पारेको छ। क्षतिका कारण कर्मचारीलाई रोजगारीबाट अलग नगरेको पनि कम्पनीले जनाएको छ।

पूर्ण रूपमा आगलागी भएका स्टोरहरूको पुनर्निर्माणका लागि ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको कम्पनीको भनाइ छ।

त्यसैगरी भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहेको बताएका छन।

उनले कठिन परिस्थितिमा साथ दिने सहयोगी हातहरू, चौबीसै घण्टा खटेर पुनर्निर्माणमा योगदान पुर्‍याउने कर्मचारी तथा स्टोर पुनः सञ्चालनको प्रतीक्षामा रहेका ग्राहकप्रति आभार व्यक्त गरेका छन ।

कम्पनीले ग्राहक, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त निरन्तर साथ, सहयोग र विश्वासप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update