नेपाल महर्षि वैदिक फाउन्डेसन अध्यक्ष डा. दीपकप्रकाश बास्कोटा
नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा विश्वशान्ति, मानवकल्याण र नेपालको दिगो शान्तिको कामनासहित यही कार्तिक २९ देखि मंसिर १ गतेसम्म काठमाडौंको दक्षिणकालीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा हुन गइरहेको तीनदिने विश्वकल्याण महारुद्राभिषेक यज्ञको सन्दर्भमा नेपालको विश्वशान्ति अभियान तथा सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएर अध्यात्म कर्ममा समर्पित हुनुभएका फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आध्यात्मिक यात्रालगायत विषयमा खबर आउटले गरेको कुराकानीको सम्पादित अंश :
त्रिदिवसीय विश्वकल्याण महारुद्राभिषेक यज्ञ आयोजना हुँदैछ। यसको मुख्य उद्देश्य र महत्वबारे बताइदिनुहोस् न ।
यस यज्ञको मुख्य उद्देश्य विश्वशान्ति, मानवकल्याण तथा नेपालको दिगो शान्ति र समृद्धिको कामना गर्नु हो । पछिल्लो समय नेपाललगायत विश्वका विभिन्न स्थानमा प्राकृतिक विपत्ति, द्वन्द्व, अशान्ति र अनेकौँ मानवीय संकट देखिएका छन् । यस्ता विपत्तिमा दिवंगत हुनुभएका व्यक्तिहरूको आत्माको शान्ति तथा मुक्तिको कामनासहित यो यज्ञ आयोजना गर्न लागेका हौँ ।
वैदिक सनातन परम्परामा यज्ञलाई लोककल्याण र विश्वकल्याणको महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ । त्यसैले व्यक्तिगत सुख, शान्ति र समृद्धिभन्दा माथि उठेर समग्र मानवजाति र विश्वकै कल्याणको संकल्पका साथ यो अनुष्ठान गर्न लागेका हौँ ।
दशैँ, तिहारलगत्तै यज्ञ आयोजना गर्नुको कुनै विशेष कारण ?
हामीले विगतदेखि नै महर्षि महेश योगीको नेपाल आगमनलाई स्मरण गर्दै विभिन्न वैदिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गर्दै आएका छौँ । २०८१ साल कार्तिक २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उहाँको नेपाल आगमनको स्वर्ण महोत्सव भव्य रूपमा मनाएका थियौँ । त्यस अवसरमा एक हजार १११ जना भावातीत ध्यान तथा सिद्धि साधक र वैदिक बटुक पण्डितहरूको सहभागितामा विराट महायज्ञ गरिएको थियो ।
त्यसैगरी, २०८२ साल कार्तिक २४ गते दक्षिणकाली नगरपालिका–१, बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा १५१ जना वैदिक पण्डितद्वारा एकदिवसीय महारुद्राभिषेक यज्ञ सम्पन्न गरेका थियौँ ।
यस वर्ष पनि महर्षि महेश योगीको नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा यज्ञ आयोजना गर्न लागेका हौँ । उहाँले ५२ वर्षअघि काठमाडौंको टुँडिखेलबाट ‘विश्वको नेतृत्वका लागि नेपाल’ ९ल्भउब ितय ीभबम तजभ ध्यचमि० भन्ने उद्घोषसहित नेपाललाई विश्वस्तरमा परिचित गराउने अभियान सुरु गर्नुभएको थियो । उहाँको त्यो महान् सोच र अभियानलाई निरन्तरता दिनु हाम्रो दायित्व हो । विगत दुई वर्षदेखि उहाँको नेपाल आगमनको वार्षिकोत्सवलाई महायज्ञका माध्यमबाट मनाउँदै आएका छौँ । यस वर्ष पनि त्यसैलाई निरन्तरता दिँदै तीनदिने महारुद्राभिषेक यज्ञ गर्न लागेका हौँ ।
यसपटकको महारुद्राभिषेक यज्ञमा के-कस्ता धार्मिक अनुष्ठान हुनेछन् ?
कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन दिन विश्वकल्याण महारुद्राभिषेक यज्ञ सञ्चालन हुनेछ । यो सामूहिक यज्ञ हो । यसमा ५७ जना पण्डितले रुद्री पाठ, १३ जनाले चण्डी पाठ, १५ जनाले हवन, तीन जनाले नवग्रह पाठ र एक जनाले वेद पाठ गर्नुहुनेछ । वैदिक शास्त्रीय विधि र परम्पराअनुसार सम्पन्न हुने यस अनुष्ठानमा महालक्ष्मीको विशेष आराधना पनि गरिनेछ । समग्रमा यो यज्ञ आत्मकल्याण, विश्वशान्ति, नेपालको दिगो शान्ति, मानवकल्याण तथा प्राकृतिक विपत्तिमा दिवंगत भएकाहरूको आत्माको शान्ति र मुक्तिको संकल्पसँग जोडिएको छ ।
यज्ञलाई प्रायः धार्मिक अनुष्ठानका रूपमा मात्र बुझ्ने गरिन्छ । यसको आध्यात्मिक तथा वैज्ञानिक महत्व के छ ?
यज्ञलाई केवल धार्मिक कर्मकाण्डका रूपमा मात्र बुझ्नु हुँदैन । यसको आध्यात्मिक, सांस्कृतिक र वैदिक महत्व निकै ठूलो छ । हाम्रा शास्त्रमा यज्ञलाई प्रकृति, मानवजीवन र समग्र सृष्टिको सन्तुलनसँग जोडेर व्याख्या गरिएको छ ।
श्रीमद्भगवद्गीतामा पनि यज्ञको महत्व उल्लेख गरिएको छ । यज्ञबाट देवता प्रसन्न हुने, देवताबाट वर्षा हुने, वर्षाबाट अन्न उत्पादन हुने र अन्नबाट प्राणीहरूको जीवन रक्षा हुने मान्यता छ । यसको मूल भाव प्रकृति र मानवबीचको पारस्परिक सम्बन्ध तथा सन्तुलन हो ।
यज्ञले मानिसमा श्रद्धा, अनुशासन, सामूहिकता, परोपकार र सकारात्मक सोचको भावना विकास गर्न प्रेरित गर्छ । त्यसैले यज्ञलाई लोककल्याण र विश्वकल्याणको वैदिक परम्पराका रूपमा बुझ्नुपर्छ ।
यज्ञमा सर्वसाधारण तथा श्रद्धालु भक्तजनले कसरी सहभागी हुन सक्छन् ?
यस यज्ञमा सम्पूर्ण श्रद्धालु, भक्तजन तथा सर्वसाधारणलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछु । यज्ञमा कर्ताका रूपमा सहभागी हुन चाहने महानुभावले पाँच हजार एक सय रुपैयाँ सहयोगसहित आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ । कर्ता बन्न चाहनेहरूका लागि यज्ञको पहिलो वा दोस्रो दिन उपस्थित भएर सहभागिता जनाउन सक्ने व्यवस्था मिलाएका छौँ । यसरी सहभागी हुँदा वैदिक परम्पराअनुसार संकल्पसहित अनुष्ठानमा जोडिन सकिन्छ ।
यज्ञस्थलमा उपस्थित हुन नसक्नेहरूका लागि पनि कुनै व्यवस्था छ ?
अवश्य छ । सबैको समय र परिस्थितिका कारण यज्ञस्थलमा उपस्थित हुन सम्भव नहुन सक्छ । त्यसैले उपस्थित हुन नसक्ने महानुभावहरूका लागि पनि विशेष व्यवस्था गरेका छौँ । उहाँहरूले आफ्नो गोत्र, नाम र ठेगाना उपलब्ध गराएपछि वैदिक पण्डितहरूबाट उहाँहरूको नाममा संकल्प गराउने व्यवस्था छ । त्यसैले यज्ञस्थलमा प्रत्यक्ष उपस्थित हुन नसके पनि नाम दर्ता गराएर यस अनुष्ठानको संकल्पमा सहभागी हुन सकिन्छ ।
अहिले विश्वभर विभिन्न प्रकारका द्वन्द्व, अशान्ति, प्राकृतिक विपत्ति र मानवीय संकट देखिएका छन् । यस्तो अवस्थामा यज्ञ र ध्यानले कस्तो भूमिका खेल्न सक्छन् ?
अहिले विश्वले शान्ति र सकारात्मक चेतनाको आवश्यकता महसुस गरिरहेको छ । युद्ध, द्वन्द्व, हिंसा, प्राकृतिक विपत्ति र वातावरणीय असन्तुलनले मानवजीवनमा गम्भीर असर पारेका छन् । यस्तो अवस्थामा मानिसको चेतना, विचार र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु जरुरी छ ।
महर्षि महेश योगीले योग र ध्यानलाई विश्वशान्तिसँग जोडेर हेर्नुभएको थियो । ध्यानले मानिसलाई आन्तरिक शान्ति र मानसिक स्थिरतातर्फ प्रेरित गर्छ भने यज्ञले सामूहिक कल्याण र सद्भावको भावना जगाउँछ। त्यसैले यी वैदिक अभ्यासलाई मानवकल्याण र विश्वशान्तिको अभियानका रूपमा अघि बढाउनुपर्छ ।
नेपालको दिगो शान्ति र समृद्धिका लागि धार्मिक तथा आध्यात्मिक क्षेत्रको योगदान कस्तो हुन सक्छ ?
नेपालको दिगो शान्ति र समृद्धिका लागि राजनीतिक, आर्थिक र सामाजिक प्रयाससँगै आध्यात्मिक चेतनाको विकास पनि आवश्यक छ । समाजमा नैतिकता, अनुशासन, सद्भाव, सहिष्णुता र परोपकारको भावना बलियो हुनुपर्छ । योग, ध्यान र वैदिक ज्ञानले मानिसलाई सकारात्मक सोच र जिम्मेवार जीवनशैलीतर्फ प्रेरित गर्न सक्छन् ।
हाम्रो देशसँग विश्वलाई दिन सक्ने अमूल्य वैदिक सम्पदा छ । त्यसको संरक्षण, प्रवर्द्धन र व्यवहारमा प्रयोग गर्न सके नेपालले विश्वशान्तिको अभियानमा महत्वपूर्ण योगदान दिन सक्छ । महर्षि महेश योगीले देखाउनुभएको ‘विश्वको नेतृत्वका लागि नेपाल’ भन्ने अभियानलाई पनि यही आध्यात्मिक चेतना र वैदिक ज्ञानका माध्यमबाट अघि बढाउन सकिन्छ ।
धेरै जसाे मानिस राजनीतिमा केन्द्रित भइरहेका बेला तपाईंले सक्रिय राजनीति छोडेर अध्यात्म कर्म रोज्नुभएको छ । यसको पछाडिको प्रेरणा के हो ?
म यसलाई धर्मभन्दा पनि अध्यात्म भन्न रुचाउँछु । सबै कर्ममध्ये अध्यात्म कर्म सर्वश्रेष्ठ हो भन्ने बुझाइ र अनुभूतिले म यस क्षेत्रमा लागेको हुँ । श्रीमद्भगवद्गीताको तेस्रो अध्यायमा भगवान् श्रीकृष्णले यज्ञ र कर्मको महत्व स्पष्ट पार्नुभएको छ । सृष्टिको उत्पत्तिसँगै मानव र यज्ञको सम्बन्ध स्थापित भएको वैदिक मान्यता छ । यज्ञ, प्रकृति, वर्षा, अन्न र प्राणीजीवन एकअर्कासँग जोडिएका छन् ।
राजनीतिमा रहँदा पनि समाज र राष्ट्रकै हितका लागि काम गर्ने सोच थियो । तर आज राजनीति धेरै हदसम्म सत्ता र सम्पत्तिको प्रतिस्पर्धामा केन्द्रित भएको देखिन्छ । अध्यात्मको वास्तविक मर्म बुझ्न नसक्दा मानिसमा अशान्ति, हिंसा र असन्तुलन बढिरहेको छ । त्यसैले राजनीतिक यात्राबाट अलग हुँदै मानवचेतनाको विकास, आत्मिक शान्ति र विश्वकल्याणका लागि अध्यात्म कर्ममा आफूलाई समर्पित गरेको हुँ । मेरो विश्वासमा मानिसको चेतना परिवर्तन गर्न सके मात्र समाज र विश्वमा दिगो शान्तिको आधार तयार हुन्छ ।
अन्त्यमा, यस यज्ञमा सहभागी हुन चाहने श्रद्धालु तथा सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ?
यो कुनै एक संस्था वा व्यक्तिको मात्र कार्यक्रम होइन । विश्वशान्ति, मानवकल्याण र नेपालको दिगो शान्तिका लागि गरिएको साझा संकल्प हो । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, श्रद्धालु, भक्तजन, योग तथा ध्यान साधक र सर्वसाधारणलाई यस पवित्र अनुष्ठानमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछु ।
आगामी कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना हुने यस तीनदिने विश्वकल्याण महारुद्राभिषेक यज्ञमा उपस्थित भई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न र विश्वकल्याणको संकल्पमा सहभागी हुन सबैमा अनुरोध गर्दछु । हामी सबैको सामूहिक प्रयासबाट नेपालमा दिगो शान्ति र विश्वमा सद्भाव कायम गर्ने अभियानलाई अगाडि बढाउन सकिने विश्वास लिएको छु ।







