Khabar Out
अपर तामाकोशीमा सुशासनको धज्जी, १७ वर्षदेखि एउटै व्यक्तिको हालीमुहाली !

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडमा विभिन्न अनियमितता, सञ्चालक समितिको वैधानिकता र आर्थिक कारोबारमाथि प्रश्न उठाउँदै शेयरधनीहरूले निष्पक्ष छानबिन तथा फरेन्सिक अडिट गर्न माग गरेका छन् ।

शेयरधनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयसमक्ष १० बुँदे माग राख्दै स्वतन्त्र तथा अधिकारसम्पन्न छानबिन समिति गठन गर्न, विगतका साधारणसभा समयमै हुन नसक्नुको कारण खोज्न र सञ्चालक समितिका निर्णयहरूको कानुनी परीक्षण गर्न माग गरेका हुन् ।

उनीहरूले सञ्चालकहरूको कार्यकाल समाप्त भइसकेको अवस्थामा समेत समिति यथावत् राखेर महत्वपूर्ण निर्णयहरू भइरहेको भन्दै तत्काल रोक लगाउन र अविलम्ब साधारणसभा बोलाई नयाँ सञ्चालक समिति चयन गर्न निर्देशन दिनुपर्ने बताएका छन् ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कम्पनीमा खटाउँदा दिइएको पारिश्रमिक तथा सुविधामा दोहोरोपन भएरनभएको, प्रमुख कार्यकारी अधिकृतको नियुक्ति, जिम्मेवारी र सुविधाको विषयमा समेत छानबिन गर्न माग गरिएको छ ।

कम्पनीका महत्वपूर्ण वित्तीय कारोबार, नियुक्ति, पारिश्रमिक तथा सञ्चालक समितिका निर्णयहरूको विशेष परीक्षण र फरेन्सिक अडिट गरी कम्पनीलाई आर्थिक क्षति पुगेको प्रमाणित भए जिम्मेवार व्यक्तिबाट रकम असुलउपर गर्नुपर्ने शेयरधनीहरूको माग छ।

यसैबीच, प्राधिकरणले विगत १७ वर्षदेखि एउटै व्यक्तिलाई जिम्मेवारी दिइरहेको, कम्पनीले समयमा साधारणसभा नगरेको तथा अर्बौं रुपैयाँ बेरुजु रहेको दाबीसहितका विषयसमेत उठाइएको छ ।

यस विषयमा कम्पनीमा विगत १७ वर्षदेखि कार्यरत भनिएका हालका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रञ्जितसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।

यस्ता छन शेयरधनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयसमक्ष पेश गरेको १० बुँदे माग 

१, अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सम्बन्धमा उठेका सम्पूर्ण विषयको स्वतन्त्र, निष्पक्ष र अधिकारसम्पन्न छानबिन समिति गठन गरी तत्काल छानबिन गरियोस् । 

२, आर्थिक वर्ष २०८०/०८१ को साधारण सभाबाट गठित छानबिन समितिको मूल प्रतिवेदन फिर्ता लिई त्यसमा उल्लेख भएका विषयको सत्यतथ्य परीक्षण गरियोस् र प्रतिवेदन कार्यान्वयन नगर्नुको कारण सार्वजनिक गराइयोस् ।

३, आर्थिक वर्ष २०६१/०६२ र २०६२/०६३ को साधारण सभा समयमा नगर्नुको कारण छानबिन गरी कानुनबमोजिम आवश्यक कारबाही गरियोस् ।

४, सञ्चालक समितिको कार्यकाल, हाल कायम रहेको सञ्चालक समितिको वैधानिकता तथा कार्यकाल समाप्तिपछि गरिएका निर्णयहरूको कानुनी परीक्षण गरियोस् ।

५, सञ्चालक समितिका विगतका सबै बैठकका माइन्युट, उपस्थित विवरण तथा निर्णयहरू झिकाई सर्वसाधारणतर्फका सञ्चालकहरूलाई नियोजित रूपमा निर्णय प्रक्रियाबाट वञ्चित गरिएको होरहोइन छानबिन गरियोस् ।

६, नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई अपर तामाकोशीमा खटाउँदा दिइएको पारिश्रमिक, सुविधा तथा दोहोरो सुविधा सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गराई आवश्यक छानबिन गरियोस्।

७, प्रमुख कार्यकारी अधिकृतको नियुक्तिरजिम्मेवारी, पारिश्रमिक तथा सुविधा सम्बन्धमा प्रचलित कानुन, कम्पनीको नियमावली तथा सञ्चालक समितिका निर्णय पालना भए / नभएको छानबिन गरियोस् ।

८, छानबिनको क्रममा कम्पनीको हितविपरीत, शेयरधनीको अधिकारमा प्रतिकूल असर पर्ने वा कानुनविपरीत निर्णय भएको प्रमाणित भएमा सम्बन्धित सञ्चालक, पदाधिकारी तथा जिम्मेवार व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही तथा आवश्यक भएमा आर्थिक हानि-नोक्सानी असुल उपर गरियोस् ।

९, कम्पनीका सम्पूर्ण महत्वपूर्ण निर्णय, वित्तीय कारोबार, नियुक्ति, पारिश्रमिक, सुविधा तथा सञ्चालक समिति निर्णयहरूको आवश्यकताअनुसार विशेष परीक्षण / फरेन्सिक अडिट गरियोस् ।

१०, आम लगानीकर्ता तथा सर्वसाधारण, शेयरधनीको हित संरक्षणका लागि कम्पनीलाई कानुनबमोजिम पारदर्शी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन तत्काल जारी गरियोस् ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update