Khabar Out
बेनी खानेपानीको पाइप लाइन मर्मत

म्याग्दी । बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन निर्माण गरी बेनी बजारमा पानी आपूर्ति थालेको हो ।

करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मतपछि मङ्गलबार साँझदेखि पानी सञ्चालनको परीक्षण सफल भएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए । उनका अनुसार प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गर्न सकिने गरी परीक्षण गरिएको छ ।

राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी तथा वैकल्पिक पाइपलाइन निर्माण गरिएको छ । बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्नुपरेको अध्यक्ष गिरीले बताए ।

विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो । वैकल्पिक मुहान सुक्न थालेपछि पुनः रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गर्न थालिएको संस्थाले जनाएको छ ।

संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति गर्न सकिने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन विपद्पछि अवरुद्ध भएको थियो । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट पानी ल्याउने तयारी गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए ।

उनका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update