Khabar Out
उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण

उत्तर कोरिया । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ । यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने सङ्केत गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ टारपीडोको पानीमुनि परीक्षण गरिएको हो । प्योङयाङले पछिल्लो पाँच वर्षमा यस प्रणालीको विकासका क्रममा १८० भन्दा बढी परीक्षण गरेको जनाएको छ।

 

 

विश्लेषकहरूका अनुसार युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न सेना पठाएबापत मस्कोबाट प्राप्त हुन सक्ने सहयोगले उत्तर कोरियाको हतियार प्रविधि विकासलाई गति दिन सक्छ । प्योङयाङले केही दिनअघि मात्र पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको थियो ।

क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलका अनुसार एआईले टारपीडोलाई वास्तविक लक्ष्य र छल गर्न प्रयोग गरिने नक्कली लक्ष्यबीच भिन्नता छुट्याउन सहयोग गर्न सक्छ । उत्तर कोरियाले अमेरिकी रणनीतिक सैन्य साधनलाई प्रभावहीन बनाउने उद्देश्यले टारपीडो र पनडुब्बीबाट प्रक्षेपण गरिने हतियारको विकासमा लगानी बढाइरहेको उनले बताए ।

यसै महिनाको सुरुमा उत्तर कोरियाले एआईको सहयोगमा मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो । त्यसको केही दिनपछि दक्षिण कोरियाले पनि हाइपरसोनिक ग्लाइड वाहनको परीक्षण गरेको थियो । ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र गतिमा उड्न र उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रलाई पत्ता लगाउन तथा रोक्न कठिन मानिन्छ ।

उत्तर कोरियाले दक्षिण कोरियाको परीक्षण हाइपरसोनिक उडान हासिल गर्न असफल भएको हुन सक्ने दाबी गरे पनि सियोलले त्यसलाई अस्वीकार गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा देशको हतियार प्रणालीमा एआईको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए ।

नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच सम्भावित भेटवार्ताको चर्चा पनि बढेको छ । सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका पूर्वअध्यक्ष याङ मू–जिनका अनुसार सम्भावित शिखर वार्ताअघि उत्तर कोरियाले दक्षिण कोरियाको तुलनामा आफ्नो हतियार कार्यक्रम उन्नत रहेको देखाउन खोजेको हुन सक्छ ।

तर उत्तर कोरियालाई टारपीडो प्रणाली थप विकसित गर्न अझै समय लाग्न सक्ने याङले बताए । पानीमुनि उच्च गतिमा चल्दा टारपीडोले ठूलो आवाज उत्पन्न गर्ने भएकाले त्यसलाई पत्ता लगाउन सजिलो हुन्छ । यस्तो आवाज कम गर्नु प्रमुख प्राविधिक चुनौती रहेको र त्यसका लागि उन्नत प्रविधि आवश्यक पर्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update