काठमाडाैँ। युक्रेनले ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति कार्यान्वयन नभएको भन्दै बिहीबार रुसको एक तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आफूले विश्वासमा चोट पुगेको महसुस गरेको बताए।
रुसको रियाजान क्षेत्रमा रहेको उक्त तेल प्रशोधन केन्द्र मस्कोबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा पर्छ। आक्रमणपछि केन्द्रमा आगलागी भएको रुसी रक्षा मन्त्रालय र रियाजान क्षेत्रका गभर्नर पाभेल माल्कोभले जनाएका छन्। रुसी अनलाइन समाचार माध्यम एस्ट्राले पनि आगलागीको तस्बिर सार्वजनिक गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार रुस र युक्रेन दुवैलाई ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्न आग्रह गरेका थिए। युक्रेनले उक्त आग्रहअनुसार संयम अपनाएको भए पनि रुसले ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी राखेको जेलेन्स्कीको भनाइ छ। यसै परिस्थितिलाई ध्यानमा राख्दै युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथि आक्रमण पुनः सुरु गरेको बताइएको छ।
जेलेन्स्कीका अनुसार पछिल्ला दिनमा युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणसम्बन्धी नियमित पश्चिमी गुप्तचर सूचना प्राप्त गर्न सकेको छैन। साथै, अमेरिकी स्टारलिंक सञ्चार प्रणालीको प्रयोगमा समेत प्रतिबन्ध लगाइएको उनको भनाइ छ। यी दुवै सुविधा युक्रेनी सेनाका लागि महत्त्वपूर्ण मानिन्छन्।
बिहीबार प्रकाशित फाइनान्सियल टाइम्स सँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रमाथिका आक्रमण पुनः सुरु गरिने बताउनुभएको थियो । युक्रेनका एक वरिष्ठ अधिकारीले पनि रियाजानस्थित केन्द्रमा आक्रमण भएको पुष्टि गरेका छन्।
यस घटनाले युक्रेन र अमेरिकाबिचको सम्बन्ध थप जटिल बन्न सक्ने देखिएको छ। रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनको आक्रमणलाई अमेरिकी राष्ट्रपति ट्रम्पप्रतिको प्रत्यक्ष चुनौतीका रूपमा व्याख्या गरे। यद्यपि, दुवै पक्षका सबै दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको समाचारमा उल्लेख छ।
यसैबीच, ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको रुसी डिजेल आयातसम्बन्धी सहमतिप्रति पनि जेलेन्स्कीले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँका अनुसार, यस्तो सम्झौताले युक्रेनमाथि रुसको सैन्य कारबाहीलाई निरन्तरता दिन सहयोग पुग्न सक्छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता युद्ध अन्त्यका लागि विभिन्न कूटनीतिक प्रयास हुँदै आएका छन् । तर, युद्ध अन्त्य गर्ने दिशामा अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन । रासस







