काठमाडाैँ। इरान युद्धपछि बढेको ऊर्जा मूल्य, उच्च ब्याजदर र तीव्र एल निनोका कारण यस वर्ष करिब १३ करोड मानिस गरिबीमा धकेलिने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले चेतावनी दिएको छ ।
लगातारका सङ्कटले विकासोन्मुख देशको अर्थतन्त्र कमजोर बनाएको र तिनलाई सामना गर्न आवश्यक स्रोत तथा समय अभाव भएको युएनडिपीका प्रमुख अलेक्जान्डर डे क्रूले बताए।
अमेरिकाले फेब्रुअरीको अन्त्यमा इरानविरुद्ध युद्ध सुरु गरेपछि विश्व बजारमा इन्धनको मूल्य बढेको छ । ऊर्जा तथा खाद्यान्नको मूल्यवृद्धिको भार उपभोक्तामा परेमा दक्षिण तथा पूर्वी एसिया र उपसहारा अफ्रिकाका मानिस बढी प्रभावित हुने यूएनडीपीले जनाएको छ।
बैङ्ककमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकका क्रममा डे क्रूले विकासोन्मुख देशले ऊर्जा मूल्यवृद्धिको असर कम गर्न अनुदान दिए पनि लगातारका सङ्कटका कारण त्यसलाई निरन्तरता दिन कठिन भइरहेको बताए। उनले बढ्दो ब्याजदरले ऋण भुक्तानीको भार थपेको र सङ्कटसँग जुध्न आवश्यक लगानीको क्षमता घटाएको उल्लेख गरे।
युएनडिपीका अनुसार मध्यम आय भएका विकासोन्मुख देशले सरकारी राजस्वको औसत ९.५ प्रतिशत रकम ब्याज भुक्तानीमा खर्च गरिरहेका छन् । यो पछिल्लो २५ वर्षकै उच्च दर तथा उच्च आय भएका देशको तुलनामा तीन गुणा बढी हो।
यसैबिच यूएनडीपीले यस वर्ष एल निनो शक्तिशाली हुने सम्भावना औँल्याउँदै बाढी, खडेरीलगायतका चरम मौसमी घटनाले थप क्षति पुर्याउन सक्ने जनाएको छ । तिनको प्रभाव सन् २०२७ को सुरुतिर उत्कर्षमा पुग्न सक्ने अनुमान गरिएको छ।
डे क्रूले विकासोन्मुख देशमा आर्थिक वृद्धि, रोजगारी सिर्जना र जलवायु जोखिम न्यूनीकरणका लागि लगानी बढाउन तथा अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न आग्रह गरेका छन्। उनले जलवायु परिवर्तनबाट हुने आर्थिक क्षति रोक्न निजी क्षेत्रको लगानीसमेत आवश्यक रहेको बताए । रासस







