Khabar Out
स्थानान्तरण गरिएका सात वटा बाघको बर्दियामा उद्धार

बाँके। मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ। उद्धार गरिएका ती बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन्। सातमध्ये पाँच वटा बाघ र दुई बघेनी रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

बाँके, बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गरी द्वन्द्व सृजना गरेपछि नियन्त्रणमा लिइएका बाघलाई बर्दियाको रमुवापुर र ठाकुरद्धारामा राखिएको निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए। उनले ती बाघमध्ये बच्चासमेत रहेको उल्लेख गर्दै २०७७ सालदेखि अहिलेसम्म दुई वर्षदेखि १२ वर्षसम्मका बाघलाई बर्दियाका विभिन्न बाघ खोरमा राखिएको बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत अजित तुम्वाहाङफेले मानव–वन्यजन्तु द्वन्द्वमा रहेका बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर उद्धार गरिएको बताए।

तीमध्ये चितुवासमेत रहेको उल्लेख गर्दै उनले बाघलाई उद्धार गरेर राख्ने ठाउँको अभाव हुन थालेको बताए। “अब बाघ उद्धार गरेर राख्ने ठाउँ पनि छैन, भएका सबै बाघ खोर भरिभराउ छ”, उनले भने। संरक्षण अधिकृत तुम्वाहाङफेका अनुसार यस वर्ष दुई वटा बाघ खोर व्यवस्थापन गर्ने लक्ष्य रहेको छ।

उनले बाघको आहार पूरा गर्न एक दिन बिराएर सात केजी राँगाको मासु आपूर्ति गरिएको उल्लेख गर्दै सात बाघका लागि मात्रै वार्षिक रु आठ लाख २३ हजार २०० बराबरको लगानी भएको बताए।

तुम्वाहाङफेले निकुञ्जभित्र आहारा प्रजाति जरायो, चित्तललगायत वन्यजन्तुको चोरीसिकारी भइरहेको जानकारी दिँदै ठुला वन्यजन्तुकोे अपराध नभएको बताए। नेपालमा उद्धार गरिएर राखिएका २० बाघ रहेका छन् । ती बाघलाई बाँके, बर्दिया, चितवन, पर्सा र ललितपुरमा राखिएको छ । त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जको खैरीमा पनि एउटा बाघ र दुई चितुवाको उद्धार गरी खोरमा राखिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update