Khabar Out
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघद्धारा रास्वपा कार्यालयमा धर्ना

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नियन्त्रण गर्न खोजेको भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय कार्यालयअगाडि धर्ना दिएको छ ।

महासंघले आज २०८३ मंसिर १३ गते रास्वपाको केन्द्रीय कार्यालयसहित देशभरका जिल्ला तथा स्थानीय तहस्थित पार्टी कार्यालयहरूमा धर्ना दिएको हो ।

संसदबाट पारित लोककल्याणकारी विज्ञापनको रकम कार्यविधि संशोधनका नाममा सञ्चार मन्त्रालयले अवैध रूपमा कटौती गरेको, समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको तथा प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास गरिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

त्यसैगरी सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध गर्ने व्यक्तिमाथि हालसम्म कारबाही नभएको, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा पनि महासंघले आपत्ति जनाएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिताको संस्थागत विकासप्रति सरकार अनुदार देखिएको निष्कर्षसहित महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ ।

लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि हुने हस्तक्षेप बन्द गर्न, पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गर्न तथा सञ्चारमाध्यमले पाउनुपर्ने लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध गराउन दबाब दिने उद्देश्यले देशव्यापी रूपमा धर्ना कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।

महासंघले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न र सञ्चार क्षेत्रका जायज माग सम्बोधन गर्न सरकारसँग मागसमेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update