Khabar Out
नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

काठमाडाैँ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाको नियन्त्रण पुनः प्राप्त गर्ने र त्यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक एजेन्डा अन्त्य हुने दाबी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलनपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले डेमोक्रेटहरूले प्रतिनिधि सभा फिर्ता लिने र त्यसपछि ‘नयाँ दिन’ सुरु हुने बताए। उनले ट्रम्पको राष्ट्रपति पद ‘हामीले चिनेको रूपमा’ नोभेम्बरमा समाप्त हुने दाबी गरे। यद्यपि, काङ्ग्रेसमा डेमोक्रेटहरूको नियन्त्रण भए ट्रम्पको राष्ट्रपति पद कसरी समाप्त हुन्छ भन्ने उनले स्पष्ट पारेनन्।

न्युजमले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नगरी खाद्यान्नको मूल्य, घरको बिमा, आवास र राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने बताए। क्यालिफोर्नियाको अर्थतन्त्र सन् २०१९ यता ४० प्रतिशतले बढेको र यस वर्ष ९० प्रतिशत दिन कुनै न कुनै समयमा विद्युत् माग शतप्रतिशत स्वच्छ ऊर्जाबाट पूरा भएको उनले बताए।

ट्रम्प प्रशासनले क्यालिफोर्नियाका वातावरणसम्बन्धी नियम उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाउँदै न्युजमले ट्रम्पको नीतिले अमेरिकालाई पछाडि धकेलिरहेको टिप्पणी गर्नुभयो । सन् २०२८ को राष्ट्रपतीय निर्वाचनबारे उनले कुनै पनि डेमोक्रेटिक उम्मेदवारले जित्न सक्ने दाबी गर्दै विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले ट्रम्पका विवादास्पद नीतिलाई समर्थन गरेको आरोप लगाए।

न्युजमले सम्भावित राष्ट्रपतीय उम्मेदवार अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजबारे पनि टिप्पणी गर्दै महिलाले राष्ट्रपति निर्वाचन जित्न नसक्ने धारणा गलत भएको बताए। उनले ओकासियो–कोर्टेजलाई ‘पुस्ताको प्रतिभा’ को संज्ञा दिनुभयो । साथै, सन् २०२८ को राष्ट्रपतीय दौडमा आफू अघि बढेमा आफ्नो अनुभव, दृष्टिकोण र क्षमतालाई फरक रूपमा प्रस्तुत गर्न सक्ने बताए।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update