Khabar Out
युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्। उनका अनुसार यस निर्णयपछि युक्रेनले आफ्नै भूमिमा प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्नेछ।

रुसले युक्रेनमाथि प्रहार गर्ने ब्यालिस्टिक मिसाइल रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिए पनि किएभले यस्ता मिसाइलको अभाव झेलिरहेको छ । जेलेन्स्कीले पत्रकारहरूलाई पठाएको भ्वाइस नोटमा पछिल्लो भेटका क्रममा राष्ट्रपति ट्रम्पले आफूले अन्तिम निर्णय गरिसकेको र युक्रेनले प्याट्रियट मिसाइल उत्पादनको अनुमति पाउने बताएको जानकारी दिए।

यसअघि जुलाईमा ट्रम्पले युक्रेनलाई यस्तो अनुमति दिनु उपयुक्त हुने बताएका थिए। तर पछि उनले अनुमति दिनुअघि अमेरिकाले यस विषयमा ‘धेरै सावधानी’ अपनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

फेब्रुअरीमा अमेरिका र इजरायलबिच इरानसँग युद्ध भएपछि युक्रेनले प्याट्रियट इन्टरसेप्टर मिसाइलको थप अभाव सामना गर्नुपरेको जनाएको छ । त्यस क्रममा उन्नत हवाई प्रतिरक्षा प्रणालीका केही आपूर्ति अन्यत्र मोडिएको बताइएको छ।

युक्रेनलाई उत्पादनको अनुमति प्राप्त भए पनि तत्काल आवश्यकताका लागि भने त्यसले पर्याप्त सहयोग नगर्ने देखिएको छ। नयाँ औद्योगिक उत्पादन क्षमता स्थापना गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने भएकाले किएभले आगामी जाडोअघि तत्काल सैन्य सहयोगका लागि अमेरिकासँग आग्रह गरिरहेको छ।

रुसले युक्रेनको विद्युत् तथा ताप आपूर्ति संरचनामाथि बारम्बार आक्रमण गर्दै आएकाले आगामी हिउँदमा त्यस्ता आक्रमण दोहोरिन सक्ने चिन्ता किएभले व्यक्त गरेको छ । जेलेन्स्कीले गत महिना युक्रेनलाई हिउँद पार गर्न अमेरिकाको प्याट्रियट इन्टरसेप्टर मिसाइलको पाँच प्रतिशत र रुसका सबै ब्यालिस्टिक प्रक्षेपण रोक्न १० प्रतिशत आवश्यक पर्ने बताएका थिए।

यससँगै किएभले आफ्नै ब्यालिस्टिक मिसाइल प्रतिरोधी प्रणाली विकास गर्ने प्रयास पनि अघि बढाइरहेको छ । जेलेन्स्कीका अनुसार युक्रेनले ‘फ्रेयाम’ नामक आफ्नै प्रतिरक्षा प्रणाली निर्माणमा काम गरिरहेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update