Khabar Out
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबिच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

 

 

भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो । विशेषगरी नेपालमा हालै आएको विनाशकारी विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेका सन्दर्भमा अन्तरराष्ट्रिय साझेदारी र सहयोगको महत्त्व रहेको बताए । दुवै पक्षले नेपाल–बेलायतबीच विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update