Khabar Out
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

काठमाडाैँ । विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ। ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट जडान भएका थिए । यो आँकडा अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो।

फ्र्याङ्कफर्टस्थित अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घ (आइएफआर) का अध्यक्ष जेन हेफनरले एक दशकअघि सुरु गरिएको राष्ट्रिय रोबोटिक्स रणनीतिका कारण चीनले औद्योगिक क्षेत्रको आधुनिकीकरणमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) ले पनि रोबोटिक्स र कृत्रिम बौद्धिकताको प्रयोगलाई प्राथमिकता दिएको उनले उल्लेख गरे।

चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर वाहन, धातु र मेसिनरी उद्योगबाट बढी आएको छ । सन् २०२५ मा विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा ९६ हजार चार सय, मोटर वाहन उद्योगमा ७८ हजार नौ सय र धातु तथा मेसिनरी उद्योगमा ७८ हजार सात सय रोबोट जडान भएका थिए।

चिनियाँ रोबोट निर्माता कम्पनीको घरेलु बजारमा हिस्सा पनि बढेको छ । गत वर्ष चिनियाँ कम्पनीबाट आपूर्ति भएका रोबोटको जडान १५ प्रतिशतले बढेर एक लाख ९५ हजार पुगेको थियो। यो कुल जडानको ५५ प्रतिशत हो।

आइएफआरका अनुसार चीनको औद्योगिक रोबोट बजार अझै सन्तृप्त भएको छैन । सन् २०२९ सम्म बजारमा वार्षिक पाँचदेखि १० प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ। जनसङ्ख्यामा आएको परिवर्तन र श्रमिक अभावले उद्योगमा स्वचालनको माग बढाउने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने महासङ्घले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update