खोटाङ । नेपाल बार एसोसिएसन खोटाङ एकाइले जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर सार्वजनिक रूपमा अदालत तथा न्यायाधीशविरुद्ध टीकाटिप्पणी र आलोचना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै असोज ५ गते जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर अदालत तथा न्यायाधीशविरुद्ध सार्वजनिक स्थानमा गरिएका अपमानजनक, असान्दर्भिक टीकाटिप्पणी तथा आलोचनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका परियारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते सफाइ दिएपछि पीडित परिवार तथा आफन्तले अदालत परिसरमै आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका थिए । सोही घटनालाई लक्षित गर्दै नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
जिल्ला अध्यक्ष कुलप्रसाद शर्मा फुयालद्वारा जारी विज्ञप्तिमा फैसला तथा न्यायिक आदेशमा चित्त नबुझे प्रचलित कानुनबमोजिम पुनरावेदन, पुनरावलोकन तथा निवेदनलगायत न्यायिक उपचारका माध्यम अपनाउने अधिकार प्रत्येक पक्षलाई रहेको उल्लेख गरिएको छ ।
तर, फैसलाप्रति असहमति रहेको भन्दै अदालत वा न्यायाधीशको इज्जत, मानप्रतिष्ठा, चरित्र वा निष्ठामाथि प्रश्न उठाउने, अपमानजनक वा लाञ्छनायुक्त अभिव्यक्ति दिने तथा सम्बन्धित विषयलाई अतिरञ्जित रूपमा प्रचार गर्ने कार्यले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्थामा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
न्यायिक निर्णयप्रति असहमति व्यक्त गर्दा तथ्य र कानुनमा आधारित भएर मात्र धारणा राख्नुपर्ने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको संरक्षण गर्नु सबैको कर्तव्य भएको विज्ञप्तिमा भनिएको छ ।
रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ–१२ गते पक्राउ परेका बतासेका हेमन परियार, दीपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका दीपक श्रेष्ठलाई अदालतले सफाइ दिएको हो ।
उच्च अदालतको आदेशमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुविरुद्धको आरोप प्रमाणित नभएपछि अदालतले सफाइ दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको आरोप लागेका बतासेका १६ वर्षीय एक किशोर भने यसअघि नै दोषी ठहर भएर कारबाही भोगिरहेका छन् । दोषी ठहर व्यक्ति १८ वर्षभन्दा कम उमेर भएकाले उनको नाम गोप्य राखिएको छ । दोषी ठहर किशोर अदालतको आदेशमा सुधारगृहमा बसेर सजाय भुक्तान गरिरहेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको विसं २०८२ भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीच पर्ने मार्से सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो ।
सहकारीको कार्यालयबाट हिँड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गरिएको थियो । खोजी गर्नेक्रममा सडकबाट करिब २०० मिटर तल बाँसघारीमा रेश्मिकाको शव फेला परेको थियो ।
घटनाका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार रेश्मिकाको चप्पल सडकको कुनामा भेटिएको थियो भने सडकदेखि शव भेटिएको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको थियो । झाडी मडारिएको ठाउँभन्दा केही तल रेश्मिकाको झोला र अन्डरवेयरसमेत भेटिएको बताइएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार सबैभन्दा तल रेश्मिकाको शव घाँटीमा कालो सल बेरेको अवस्थामा फेला परेको थियो । अन्डरवेयर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गर्दै आएका छन् ।






