काठमाडाैँ । पूर्वी युक्रेनको निप्रो सहरमा रुसी आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला आक्रमण भएको हो।
निप्रोपेट्रोभस्क क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्झाका अनुसार रुसी सेनाले राति निप्रोका चार जिल्लामा मिसाइल, ड्रोन र तोपखानाबाट आक्रमण गरेको थियो । आक्रमणमा गोदाम र एउटा व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ ।
उनका अनुसार आक्रमणमा मृत्यु भएका चार जनाको शव भग्नावशेषबाट निकालिएको थियो भने खोजी तथा उद्धारकार्य जारी थियो। यसै क्षेत्रमा पर्ने राष्ट्रपति जेलेन्स्कीको गृहसहर क्रिभी रिह र पाभ्लोग्राडका औद्योगिक क्षेत्रलाई पनि रुसी सेनाले लक्षित गरेको गान्झाले बताए।
दक्षिणी माइकोलाइभ क्षेत्रमा रुसी लामो दूरीका ड्रोनबाट भएको आक्रमणमा तीन वर्षीय बालकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आक्रमणमा अन्य चार जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
रुस र युक्रेनले पछिल्ला महिनामा कारखाना, गोदाम, ऊर्जा तथा बन्दरगाह पूर्वाधार र कालो सागरमा रहेका जहाजसहितका संरचनामाथि लामो दूरीका आक्रमण तीव्र पारेका छन्।
यसैबीच, न्युयोर्कमा रहेका जेलेन्स्कीले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा गरिएको छ । उनले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ पार्न र देशका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्न काम भइरहेको बताए।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध अन्त्यका लागि अमेरिकाले कूटनीतिक मध्यस्थताको प्रयास अघि बढाइरहेको छ। रासस






