Khabar Out
एआई जोखिमबारे विज्ञ भन्छन्– अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाणमा आधारित बहस आवश्यक

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत एआईसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिमबारे भय पैदा गर्ने अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाण र तर्कमा आधारित बहस आवश्यक रहेको बताएका छन्।

महासभाको सन्दर्भमा सोमबार न्युयोर्कमा आयोजित कार्यक्रममा गुगल डीपमाइन्डकी कार्यकारी तथा प्यानलकी सदस्य जोएल बार्रलले एआईबारे थाहा भएका र थाहा नभएका विषय छुट्याउन वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । “डरमा लगानी गर्नु त्यति उपयोगी हुँदैन”, उहाँले भन्नुभयो ।

ओपनएआईका पूर्वकर्मचारी ज्याकोब कोक्सनले एआईले दशकको अन्त्यसम्ममा सबै मानिसको ज्यान लिन सक्ने विकासकर्ताहरूले विश्वास गरेको बताउनुभएको थियो । त्यस्तै, गुगल डीपमाइन्डका पूर्वअनुसन्धान इन्जिनियरले एआईबाट मानव जातिको विनाश रोक्न निकै ढिला भइसकेको दाबी गरेका थिए ।

नोबेल शान्ति पुरस्कार विजेता तथा खोजी पत्रकार मारिया रेसाले एआईसम्बन्धी बहसलाई मानव अस्तित्व समाप्त हुने वा एआईले खासै असर नगर्ने दुई अतिवादी धारणामा सीमित गर्न नहुने बताउनुभयो । “वास्तविकता धेरै सूक्ष्म र जटिल छ”, उहाँले भन्नुभयो ।

प्यानलका सहअध्यक्ष योशुआ बेङ्गियोले एआई जोखिमबारे वैज्ञानिकहरूले प्रमाणबाट वास्तवमै के जान्न सकेका छन् र त्यसका आधारमा कति टाढासम्म अनुमान गर्न सकिन्छ भन्ने छुट्याउनुपर्ने बताउनुभयो । सन् २०२५ मा गठित प्यानलको उद्देश्य एआईसम्बन्धी वैज्ञानिक बुझाइ बढाउनु र संयुक्त राष्ट्रसङ्घका छलफललाई प्रमाणमा आधारित बनाउन सहयोग गर्नु हो । एआई जोखिमबारे विश्वव्यापी रूपमा अनिश्चितता र जोखिमको गम्भीरतासहित तर्कसङ्गत छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update