Khabar Out
टर्कीको विद्यालयबाहिर गोली चल्दा पाँच घाइते

टर्की । पश्चिमी टर्कीको मनिसा प्रान्तमा मङ्गलबार एक उच्च विद्यालयबाहिर बन्दुकधारीले गोली चलाउँदा विद्यार्थीसहित पाँच जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ८ बजे तुर्गुट्लु जिल्लास्थित विद्यालयबाहिर गोली चलेको निजी टेलिभिजन प्रसारकले जनाएको छ । घटनापछि प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेको थियो । अधिकारीहरूले गोली चलाउने संदिग्धको खोजी गरिरहेका छन् भने विद्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक अज्ञात व्यक्तिले गोली चलाउनुको कारण स्पष्ट नभए पनि घटनापछि त्यहाँबाट भागेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

टर्कीमा पछिल्लो समय विद्यालय तथा शैक्षिक संस्थालाई लक्षित गरी भएका गोलीकाण्डको यो अर्को घटना हो । यसअघि अप्रिलमा कहरामनमरस प्रान्तको एक विद्यालयमा १४ वर्षीय किशोरले गोली चलाउँदा नौ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो । मृत्यु हुने विद्यार्थी १० र ११ वर्षका थिए भने आक्रमणकारी किशोरको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसैगरी, दक्षिणपूर्वी सान्लिउर्फा प्रान्तमा पूर्वविद्यार्थीले आफूले अध्ययन गरेको उच्च विद्यालयमा गोली चलाउँदा १६ जना घाइते भएका थिए । पछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले आत्महत्या गरेका थिए ।

विद्यालयमा भएका ती घटनाले टर्कीमा व्यापक आक्रोश उत्पन्न गरेको थियो । त्यसपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानले उपशिक्षामन्त्रीलाई पदबाट हटाउनुभएको थियो भने सरकारले बन्दुकको स्वामित्वमा प्रतिबन्धलगायतका थप सुरक्षा उपाय अघि बढाउने बताएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update