Khabar Out
संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले युद्ध र शान्ति प्रयासबारे धारणा राख्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मंगलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धमा हासिल गरेका उपलब्धि र शान्ति स्थापनाका प्रयासलाई प्रमुखताका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्नुका साथै गाजाको द्वन्द्व अन्त्य गर्ने आफ्नो पहल र इजरायलसँगको अब्राहम सम्झौतामा थप अरब देशलाई सहभागी गराउने प्रयासबारे धारणा राख्ने सम्भावना छ। उनले हर्मुज जलडमरूमध्यमा युद्धका कारण उत्पन्न अवरोध र त्यसबाट भएको आर्थिक क्षतिबारे पनि आफ्नो पक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीले ट्रम्पले आफूलाई शान्ति निर्माता र सैन्य कारबाहीका समर्थक दुवै रूपमा प्रस्तुत गर्न सक्ने बताएका छन्। महासभामा उनले संयुक्त राष्ट्रसङ्घप्रतिको आलोचना पनि दोहोर्‍याउन सक्ने अनुमान गरिएको छ।

गत वर्ष ट्रम्पले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आफूले प्रयोग गर्ने क्रममा एस्केलेटर रोकिएको र टेलिप्रोम्प्टरमा समस्या आएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले एस्केलेटरको जाँच गरिएको र अमेरिकी प्रतिनिधिमण्डलका लागि टेलिप्रोम्प्टरको नयाँ व्यवस्था गरिएको बताएका छन्।

महासभाका क्रममा ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की, जापानका प्रधानमन्त्री साने तकाइची र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्नेछन्। महासभाको उच्चस्तरीय बैठकमा युद्ध र कृत्रिम बौद्धिकतासहित विश्वव्यापी सुरक्षा तथा आर्थिक चुनौतीबारे छलफल हुँदैछ।

ट्रम्पअघि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सम्बोधन गर्नेछन्। पुनःनिर्वाचनको तयारीमा रहेका लुलाले ट्रम्पलाई ब्राजिलको आगामी निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन्।

महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update