Khabar Out
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्युयोर्क । इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्यूयोर्क आइपुगेका छन् । इरानको विदेश मन्त्रालयका अनुसार उनले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

न्यूयोर्क आगमनपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गरेका छन् । सो अवसरमा महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघको महासभालाई इरानी जनताको अधिकार र हितसँग सम्बन्धित विषयमा आफ्नो देशको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ ।

यसअघि इरानी सञ्चारमाध्यमहरूले राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जानकारी दिएका थिए । पछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले विदेशमन्त्री अराघ्ची महासभामा सहभागी हुने कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्वमा रहेको जानकारी दिएका छन् ।

प्रवक्ता बाघाईका अनुसार विदेशमन्त्री अराघ्चीले महासभामा सहभागी विभिन्न देशका अधिकारी तथा विदेशमन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका क्रममा पारस्परिक चासोका विषय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी प्रतिनिधिमण्डललाई अनुमति दिएको छ । यद्यपि, न्यूयोर्क बसाइका क्रममा प्रतिनिधिमण्डलका लागि केही विशेष प्रावधान लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अराघ्ची आइतबार साँझ इरानबाट न्यूयोर्कका लागि प्रस्थान गरेका थिए । न्यूयोर्क पुग्नुअघि उनले कतारमा छोटो समय बिताएका थिए ।

यसैबीच, इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यासको ढुवानी पुनः सञ्चालन गर्ने विषयमा अमेरिकासमक्ष केही सर्तहरू प्रस्तुत गरेको जनाएको छ । इरानका अनुसार कतारले मध्यस्थको भूमिका निर्वाह गर्दै ती विषयहरू अमेरिकासमक्ष पु¥याएको हो ।

अमेरिकाले इरानी बन्दरगाहसँग सम्बन्धित केही प्रतिबन्धात्मक कदमहरू अघि बढाइरहेको जनाएको छ । यस पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हुने कूटनीतिक संवाद तथा उच्चस्तरीय भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update