यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन् ।
आईओएमका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले विस्थापितको संख्या तीव्र रूपमा बढिरहेको बताए । उनका अनुसार सेप्टेम्बर १८ सम्म १ लाख १८ हजार ८६ जना विस्थापित रहेकोमा तीन दिनभित्रै थप ११ हजार ३५२ जना विस्थापित भएका छन् ।
आईओएमको पछिल्लो तथ्यांकअनुसार ताइज गभर्नरेटमा सबैभन्दा धेरै विस्थापित रहेका छन्। त्यहाँ मात्रै ७३ हजार ४९४ जना विस्थापित भएको जनाइएको छ ।
यमन सन् २०१४ देखि जारी द्वन्द्वका कारण गम्भीर मानवीय संकटमा छ । सन् २०१४ मा हुथी समूहले राजधानी सानासहित देशका केही महत्वपूर्ण क्षेत्रमा नियन्त्रण कायम गरेपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो ।
वर्षौँदेखि जारी युद्ध, आर्थिक संकट र पटक–पटक आउने प्राकृतिक विपत्तिका कारण यमनका लाखौँ मानिस मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन् ।
यसैबीच, आईओएमका अनुसार आइतबार साँझसम्म यमनबाट लाल सागर पार गर्दै ३ हजार १०६ जना मानिस जिबुती पुगेका छन् । रासस






