काठमाडौं । त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।
प्रहरी स्रोतका अनुसार चालकको सोमबार राति नै उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आगलागीबाट चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो । उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो ।
आगलागी भएको बसको नम्बर बा ५ ख ४२७४ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैंले बसमा आगो लगाएको देखिएको छ । घटना हुनु अघि चालक र ट्राफिक प्रहरीबीच जरिवानाको विषयलाई लिएर विवाद भएको बताइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






