काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर पुनः सञ्चालनमा आएको छ । नयाँ भवन तथा संरचनासहित स्टोरको उद्घाटन गर्दै अध्यक्ष मीनबहादुर गुरुङले विगतको घटनालाई बिर्सेर नयाँ सिराबाट अघि बढेको बताएका छन् ।
स्टोर पुनर्निर्माणका क्रममा आफू गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिएको बताउँदै गुरुङले हजारौं कर्मचारी, बैंक तथा सप्लायर्सप्रतिको जिम्मेवारी सम्झेर कठिन अवस्थामा पनि व्यवसायलाई पुनर्जीवन दिएको बताए ।
उनले भाटभटेनी आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई हजारौं नेपालीलाई रोजगारी दिने र राज्यलाई ठूलो मात्रामा कर तिर्ने नेपालको सम्पत्ति भएको बताए ।
आन्दोलनका क्रममा भएको आगजनी दुःखद र गलत भएको बताउँदै गुरुङले घटनालाई लिएर कसैलाई दोष नदिने बताए । ‘अब मेरो देशमा यस्तो घटना कहिल्यै नहोस्’ भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो ।
गुरुङले भाटभटेनीलाई विभिन्न राजनीतिक नेतासँग जोडेर फैलाइएका हल्ला अस्वीकार गर्दै व्यवसाय ४२ वर्षअघि श्रीमतीको गहना बेचेर ३५ हजार रुपैयाँबाट सुरु गरेको बताए ।
उनले सरकारले निजी क्षेत्र र देशको सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै व्यवसायीलाई निराश नहुन र देशमै निरन्तर काम गर्न आग्रह गरे ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका भाटभटेनीका १२ स्टोरमध्ये टंगाल पुनः सञ्चालनमा आउने १०औँ स्टोर हो ।





