Khabar Out
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

न्युयोर्क  । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ ।

तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहौल भने तात्दै छ । उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस अगाडि जानकारी दिइसकेका छन् ।

यतिखेर न्युयोर्क सहरका अधिकांश होटलहरू भरिभराउ छन् । होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिहरूको चहलपहल देखिन्छ । विभिन्न देशका र अमेरिकाकै पनि अन्यत्र ठाउँबाट आएका मिडियाकर्मीहरूको पनि यतिखेर यहाँ भिडभाड देखिन्छ । राष्ट्रसङ्घको महासभाको समाचार सङ्कलनका लागि उनीहरू खटिएर आएका र आफ्ना काम सुरु गरिसकेका छन् ।

समाचारमा जनाइएअनुसार सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन डिसीबाट न्युयोर्क आइपुग्ने कार्यतालिका रहेको छ । यसैगरी इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतन्याहु लगायतका नेताहरू न्युयोर्क आइपुग्दैछन् ।

विश्वभरिका शासकदेखि प्रशासकसम्म, अभियन्तादेखि पत्रकारसम्म अमेरिकाको वित्तीय राजधानी रहेको न्युयोर्कमा आगामी दस दिनसम्म खचाखच रूपमा भरिनेछन् । विदेशी विशिष्ट पाहुनाहरू र त्यसमाथि पनि सरकार प्रमुखहरूको बसाइ यही एक माइलभित्र रहेका सुविधासम्पन्न र विश्वकै महँगा होटलहरूमा रहने गरेका छन् । तीमध्ये मिलेनियम हिल्टन न्यूयोर्क वन यूएन प्लाजा, द वेस्टिन न्यूयोर्क ग्रान्ड सेन्ट्रल, वालड्रफ अस्टोरिया न्यूयोर्क, हयात ग्रान्ड सेन्ट्रल लगायतका होटलहरूमा बुकिङका लागि बन्द गरिएको छ । यस अगाडि बुकिङ भइसकेका या कतिपय मिसनहरू (राष्ट्रसङ्घका लागि दूतावास) ले अग्रिम बुकिङ गरिसकेका छन् ।

यतिखेर ती होटलका कर्मचारीहरूलाई भ्याइनभ्याइ रहेको देखिएको छ । उनीहरू पनि पाहुनाहरूको सहयोगका लागि तत्परताका साथ लागिपरेका देखिन्छन् । उनीहरू कुनै पनि पाहुनाका लागि सहयोग गर्न उत्तिकै तयारी अवस्थामा रहेका छन् । त्यसो त न्युयोर्कको पर्यटन सिजन समर भए पनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म निकै चहलपहल देखिन्छ ।

अहिले राष्ट्रसङ्घको मुख्यालय वरिपरि पैदल हिँड्न बन्द गरिएको छ भने न्युयोर्क प्रहरीले ठूलो सङ्ख्यामा क्याडेट परिचालन गरिसकेको छ । यहाँ वरपर भारी सङ्ख्यामा ब्यारियरहरू राखिएका छन् । उच्चस्तरीय सप्ताह भएकाले कारगेड, स्कर्टिङ गर्नेदेखि पाहुनाहरूलाई होटल र एयरपोर्टसम्म पुर्‍याउन कतिपय बाटोहरू एकतर्फी आवागमन र कतिपय बन्द गरिएको छ । राष्ट्रसङ्घले नै भिजिटरहरूका लागि अक्टोबर १२ सम्मलाई बन्द गरेको छ ।

यहाँ आवागमनका लागि बाटोहरू बन्द भए पनि सर्वसाधारणका लागि भने अन्डरग्राउन्डबाट चल्ने रेलवे सिस्टम भएकाले आफ्ना काममा आवतजावत गर्न गाह्रो हुँदैन ।

मुख्य रूपमा मिडटाउन म्यानहटन, युनाइटेड नेसन्स हेडक्वार्टर लगायतका सडक बन्द गरेर सार्वजनिक कार्यक्रमहरूको आयोजना गर्न पनि रोक लगाइएको छ । न्युयोर्क सिटीकी पुलिस कमिशनर जेसिका टिस्चले संवाददाताहरूसँग कुरा गर्दै भनिन्— न्युयोर्क पुलिस डिपार्टमेन्ट पूर्ण रूपमा तयार र सतर्क रहेको छ ।

न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार यहाँका होटलहरूमा सबैभन्दा व्यस्त सिजन सेप्टेम्बर नै हो, तर आफूहरूलाई महासभामा भाग लिन आउनेहरूको विषयमा स्पेशल भनेर भनिएको हुँदैन । उनका अनुसार यो समयमा होटलहरूको उच्च दरको बुकिङ हुने भएकाले मूल्य पनि महँगो पर्ने हुन्छ । त्यसैले तीन महिना अगाडि बुकिङ गरेको खण्डमा किफायती मूल्यमा होटल प्राप्त गर्न सकिन्छ ।

म्यानहटनमा नै खुद्रा पसल चलाएर बसेका ओमप्रकाश खण्डेवाल यो समयमा उपहारका सामानहरूको व्यापार बढी हुने बताउँछन् । उनले विगत एक दशकमा सेप्टेम्बर महिनामा जहिले पनि व्यापार बढी हुने तथ्याङ्क आफूसँग रहेको बताए ।

न्युयोर्कमा नै बसेर उबर चलाउँदै आएका तिलक गुरुङका अनुसार यो सिजनमा धेरै स्थानमा अवरोध हुने भएकाले छोटो यात्रालाई पनि लामो समय लाग्ने, अन्तिम समयमा रुट परिवर्तन गराइदिने गरेकाले हैरानी त हुन्छ । गुरुङका अनुसार यो समयमा सबवे (रेल) बाट यात्रा गर्दा धेरै सजिलो र किफायती हुन्छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी महासभा आगामी २९ सेप्टेम्बरसम्म जारी रहनेछ । यसपटकको महासभाको “विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ” भन्ने नारा रहेको छ ।

नेपालको तयारी

न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महासभाको ८१औँ सेसनलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नेछन् । यस सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल सोमबार महासभामा भाग लिनका लागि न्युयोर्क आइपुग्नेछन् ।

भोटेकोशी बाढीका कारण नेपालले निकै ठूलो क्षति व्यहोर्नुपरेकाले यस पटकको महासभामा नेपालमाथि नै विश्वको ध्यान पुग्ने देखिएको छ । त्यसैले पनि यो महासभामा नेपालको सहभागिता र उपस्थिति महत्वपूर्ण रहेको छ ।

महासभाको एक मुख्य एजेन्डा नै जलवायु परिवर्तन हो । यसलाई नेपालले मुख्य रूपमा प्रभावित देशको उदाहरणसहित आफ्नो आवाजलाई बुलन्द बनाउन सक्नेछ । एकातिर विश्वजगत्ले समुद्रको सतह बढ्ने र त्यसले मानवीय, ऊर्जा, पूर्वाधारको क्षति बढाउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । अर्कातर्फ विश्वका उच्च शिखरहरूमध्ये नेपालका आठ शिखर पग्लिँदै गएर अन्ततः समुद्र सतह वृद्धि नै हुनेछ । त्यसैले नेपालले आयोजना गर्ने ‘सगरमाथा टु दि सी लेभल’ भन्ने नाराका साथ ‘साइडलाइन इभेन्ट’ महत्वपूर्ण हुने नै छ ।

त्यसमाथि नेपालले हरित ग्यास उत्सर्जनमा कम योगदान तर क्षतिमा बढी व्यहोर्नुपरेकाले हानि–नोक्सानीको विषयमा पनि विश्वको ध्यान आकर्षित गर्ने नै छ । विश्वका विकसित देशहरूले यसमा योगदान गर्ने कोष बढाउन दबाब दिने यो समय उपयुक्त भएकाले राष्ट्रसङ्घका अधिकारीहरू नै यसलाई जोडतोडका साथ उठाइरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले देशहरू र मानिसहरूको जीवनमा पार्ने असर निकै खराब हुँदै गएको र यसको पछिल्लो प्रमाण नेपालको घटना हो भनेका थिए ।

गत बुधबार मात्रै पनि संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु हुन लागेको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त धारणा राखेका हुन् ।

संवाददाताहरूले उच्चस्तरीय बैठकहरूमा नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिको सम्बन्धमा कुनै ठोस नतिजाको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै महासचिव गुटेरेसले अगाडि थपे– तीन वर्ष अगाडि म अन्नपूर्ण र सगरमाथाका हिमनदीहरूमा गएको थिएँ, त्यति बेला नै मैले भनेको थिएँ कि अवस्था निकै खराब हुँदै गइरहेको छ र कुनै पनि विनाशकारी घटना घट्न सक्छ र अहिले त्यस्तै भएको छ ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनले देशहरूको अवस्था अझै बिग्रन सक्ने भन्दै सचेत रहनसमेत आग्रह गरेका छन् । यसैले यस पटकको महासभामा नेपालले जलवायु न्याय के कति मात्रामा प्राप्त गर्न सफल हुन्छ भन्ने त भविष्यको विषय हो तर नेपालले आफ्नो भनाइ राख्नका लागि उपयुक्त अवसर भने अवश्य प्राप्त गरेको छ । आशा गरौँ अरू महासभाभन्दा नेपालले यो महासभाबाट बढीभन्दा बढी लाभ लिन सफल होस् ।

समयमा नै सचेतता नअपनाउने हो भने सेप्टेम्बरमा सिमसिम परेको पानीजस्तै झन् बढ्दै जाने र दुई दशकपछि हिमपात भएर राष्ट्रसङ्घको महासभालाई नै अवरोध पुर्‍याउने पो हो कि ? त्यसैले जलवायु परिवर्तन जस्तो गम्भीर समस्याले विश्वको मानचित्रमा नै धक्का दिने भएकाले यसमा विश्वभरका सरकार प्रमुखहरूले प्रतिबद्धताअनुसारको काम गरेर भावी पुस्ताका लागि सबल र सक्षम पृथ्वी हस्तान्तरण गर्न सफलता मिलोस् । रासस

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update