Khabar Out
भोटेकोशी बाढी : तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन

पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत सङ्कलन अभियानमा रु ७० लाख ४७ हजार बराबरको रकम जम्मा भएको छ।

गत भदौ १४ गतेदेखि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । अभियानमा संस्थाको कार्यसमिति, विभिन्न समिति, तमु समाज, सङ्घसंस्था, भाइखलक तथा चेलीबेटी परिवारलगायतले सहयोग गरेको उनले बताए ।

सङ्कलित रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । अभियानमा सहयोग गर्ने सबैलाई तमु धीं नेपालले धन्यवाद ज्ञापन गरेको छ ।

छिन्नमस्ता मन्दिरको एक लाख ५१ हजार सहयोग

सप्तरीको छिन्नमस्ता मन्दिरले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि रु एक लाख ५१ हजार बराबरको सहयोग गरेको छ ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले मन्दिर समितिका तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक आइतबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गरेका हुन् ।

उनले भने, “उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने छ ।” मन्दिर समितिको तर्फबाट थोरै भए पनि बाढीपीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । चेक ग्रहण गर्दै मन्त्री यादवले विपदको समयमा मन्दिर समितिले देखाएको सामाजिक सद्भावको भावनालाई सकारात्मक लिएको बताए । बाढीले रसुवा, नुवाकोट, धादिङमा ठुलो जनधनको क्षति गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update