विराटनगर । कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र २३२ वटा योजना यसै आर्थिक वर्षभित्र सम्पत्र गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले म्याद सकिएका तथा बजेट अभावले सम्पत्र नभएका त्यस्ता सडक, पुल तथा भवनलगायतका आयोजनाको म्याद थप र बजेट व्यवस्थापनमा सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री आचार्य र निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशको टोलीबीच भएको भएको छलफलपछि यी अधुरा योजना यथाशीघ्र अघि बढाउने सहमति जुटेको छ।
मन्त्री आचार्यले निर्माण व्यवसायीहरूलाई यो अन्तिम मौका भएको स्पष्ट पार्दै चालु आर्थिक वर्षको केही महिनाभित्रै काम सक्ने सर्तमा मात्र म्याद थप गर्न सकिने बताए ।
उनले भने, ‘सरकार र निर्माण व्यवसायी एकअर्काका साझेदार हुन्। व्यवसायीहरूले इमानदारिताका साथ तोकिएको केही महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएकाले सरकारले अन्तिम पटक म्याद थप र बजेट व्यवस्थापनमा सहजीकरण गर्नेछ । तर, काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन ।’
व्यवसायीकातर्फबाट पनि अब ढिलासुस्ती नगरी निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पत्र गर्ने सामूहिक प्रतिबद्धता जनाए। उनीहरूले अधुरा रहेका योजना सम्पत्र गर्न अन्तिम पटक मौका दिनुपर्ने माग गर्दै त्यसमा मन्त्री र मन्त्रालयको सहयोग अपेक्षा गरिएको बताएका थिए।
सरकारको ठुलो बजेट लगानी भइसकेको तर प्राविधिक हिसाबले अगाडि नबढेका त्यस्ता योजनाहरू सम्पत्र गर्ने मन्त्री आचार्यले आफैँले पहल गरेका हुन्।
प्रदेश मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा १२१ वटा कालोपत्र गर्नुपर्ने सडक अधुरा थियो । त्यसबाहेक पुल, भवनसमेत थप १११ योजना स्रोत अभावमा त्यस्तै अलपत्र छन् ।
गत आर्थिक वर्षमा मोरङका ४५, झापाका ४२, सुनसरीका १९, इलामका नौ, खोटाङका तीन, उदयपुरका दुई र धनकुटाको एक सडक योजना स्रोत अभावमा काम अघि बढन सकेका थिएनन्।
ती सडक सडक सम्पत्र गर्न मात्रै झण्डै रु ३२ करोड खर्च आवश्यक अनुमान गरिएको छ भने थप १११ योजनाका लागि रु ६० करोड बढी स्रोत व्यवस्थापनको आवश्यकता औँल्याइएको छ।
निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरबहादुर बुढाथोकीले प्रदेशमन्त्री आचार्यको सकारात्मक पहलले आफूहरूलाई नयाँ ऊर्जा दिएको बताए।
उनले भने, “आज छलफलपछि वास्तविक समस्या समाधान हुने र अलपत्र योजनाले पूर्णता पाउने विश्वास पलाएको छ । यसै वर्षभित्र काम सक्न हामी दृढ छौँ ।”






