Khabar Out
यस पटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा बर्सेनि तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो । त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो ।

त्यही नाच हेर्न दाङका विभिन्न स्थानबाट दर्शक श्रोता आउँथे । तर, यस पटक न मादल बज्यो, न त बाँसुरी बज्यो । ‘साउन्ड सिस्टम’को सहायताले नाचगान गरियो । त्यसमा पनि न्यून सहभागिता थियो ।

“विगतमा बाँसुरी, मादल बज्थे, तीजको रौनक नै फरक हुन्थ्यो”, स्थानीय आशिष केसीले भने, “तर अहिले केही बजेनन्, उफरको सहायताले नाचगान भयो, विगतजस्तो सहभागिता पनि भएन ।”

त्यस्तै तुलसीपुर–१९ सङ्क्राम पनि तीजमा नाचगान हुने चर्चित ठाउँ हो । त्यहाँ पनि जिल्लाका विभिन्न स्थानबाट नाचगानका लागि मानिस आउँथे । तर, यस पटक गाउँकै सीमित मानिसमात्रै भेला भए । एकछिन उफरबाट नाचगान गरे, अनि घरतिर हिँडे । त्यस्तो दृश्य देख्दा बाहिरबाट नाच हेर्न आएका पनि अचम्ममा परे ।

“विगतमा मौलिक नाचगान हुन्थ्यो, त्यही भएर नाच हेर्न घोराहीदेखि आयौँ”, घोराही–१५ निवासी रेशम अधिकारीले भने, “तर अहिले त त्यस्तो केही देखिएन ।”

यी त केही उदाहरणमात्रै हुन् । दाङका अधिकांश स्थानमा आयोजना गरिएका तीजका कार्यक्रममा यो वर्ष रेकर्ड गरिएका गीतमात्रै बजाइयो । मौलिकता छाडेर रेकर्ड गरिएको गीत बजाउँदा तीजको मौलिकता हराउने खतरा बढेर गएकामा सरोकारवालाले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

पछिल्लो समय तीजको संस्कार र संस्कृति आधुनिकताको नाममा हराउँदै जान थालेको धरमराउने अवस्थामा पुगेको एनप्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीले बताए । “आधुनिकताको नाममा तीज पर्व धरमराउने अवस्थामा छ”, उनले भने, “सबै मिलेर तीजको मौलिकता जोगाउनेतर्फ लाग्नुपर्छ ।” रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update